भजनी – कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता रकम नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको यही वैशाख १५ गते बसेको कार्यपालिका बैठकले तालतलैयाको बक्यौता रकम नतिर्ने ठेकेदारको सेवासुविधा रोक्ने निर्णय गरेको थियो । सो बमोजिम नै नगरका आन्तरिक आयस्रोतका रुपमा रहेका तालतलैयाको बक्यौता रकम नतिर्ने ठेकेदारको सेवासुविधा रोकिएको प्रमुख प्रशासकिय अधिकृत भोजराज भट्टले जानकारी दिए । उनले त्यस्ता व्यक्ति तथा फर्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको बताए ।
उनका अनुसार व्यक्तिका हकमा स्वास्थ्य सेवालाई भने रोकिएको छैन । ठेक्का लिने व्यक्तिले बक्यौता नतिर्दा उसको तीनपुस्ते विवरणअनुसारको सेवासुविधा रोकिएको छ । विसं २०७२ देखि नगरपालिकाले तालतलैया माछापालनका लागि ठेक्का दिँदै आएको थियो । अहिलेसम्म तालको बक्यौता रकम ५ करोड ६९ लाख ९४ हजार पुगेको छ । २७ फार्म वा व्यक्तिले नगरपालिकालाई तालतलैयाको बक्यौता बुझाउन बाँकी रहेको छ । सबैभन्दा बढी तालको बक्यौता तिर्न बाँकी कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिका प्रेमबहादुर भुलको देखिएको छ । उनले १ करोड ९२ लाख ४ हजार ३६० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । २ करोड २९ लाख ६६ हजार १५९ रुपैयाँमा ठेक्का भएको घोरताल र गिदिनियातालको ३७ लाख ७१ हजार ७९९ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका राजस्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिए ।


तालको बक्यौता नतिर्ने जनप्रतिनिधि पनि छन् । वडा नं ४ का वडासदस्य तालबहादुर चौधरीले श्रीमतीका नाममा वडा नं ४ मै रहेको लोटिहुवा सोरहवाताल ठेक्कामा लिएका थिए । दुई कार्यकाल वडासदस्य निर्वाचित भएका तालबहादुरले तालको ठेक्का सम्झौता श्रीमतीका नाममा गराए पनि त्यसको सञ्चालन आफैँले गर्दै आएका थिए । २७ लाख ४७ हजार २९५ मा ठेक्का सम्झौता भएको उक्त तालको अझै २२ लाख ९७ हजार २९५ रुपैयाँ बक्यौता छ भने ४ लाख ५० हजारमात्रै भुक्तानी भएको राजस्व शाखा प्रमुख उपाध्यायले बताए । अहिले नगरपालिकाले प्रवाह गर्ने सेवासुविधाबाट वडासदस्य चौधरी पनि वञ्चित भएका छन् ।
यता वडासदस्य तालबहादुर भुलले बक्यौता नतिर्ने मनस्थिति नभई केही छुट पाईने आशमा ढिला भएको बताए । ‘मेरो बक्यौता नतिर्ने मनस्थिति चाहिँ होइन । कहिले सामुदायिक वनको मुद्दा, कहिले नगरपालिकाको मुद्दाले ताल सञ्चालन गर्न नसकेका कारण केही छुट पाउने आशाले ढिला भएको हो’ उनले भने ‘अब त झन नतिरेर सुखै छैन । सरकारबाट प्राप्त हुने सबै सेवासुविधा रोकिएका छन् । जेठभित्र जसरी पनि तिर्छु ।’ नगरपालिका र सामुदायिक वनको विवादले काम गर्न नपाउँदा तालबाट लिनुपर्ने आम्दानी लिन नसकेपछि समयमा बक्यौता तिर्न नसकिएको उनको भनाइ छ ।
नगरप्रमुख केवल चौधरीले बक्यौताका लागि पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि सुविधा रोक्नुपरेको बताए । ‘कुनै सीप नलागेपछि अन्ततः बक्यौता उठाउनैपर्ने हुँदा सेवासुविधा रोकेका हौँ’ उनले भने ‘यति गर्दा पनि भएन भने फेरि यसपछिका प्रक्रिया चरणबद्ध अगाडि बढाइने छन् ।’ बक्यौता तिर्ने बाँकी व्यक्ति तथा फर्मले बक्यौता रकम तिरेपछि भने त्यसको रोकिएको सेवासुविधा फुकुवा हुने उनले बताए ।


















