खाेज्नुहाेस

कृषिमा जैविक पद्धति स्थापित गर्ने निड्सको योजना

Image

अत्तरिया – नेपालमा कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढी हुन्छ । कृषिमा संलग्न अधिकांश किसानले रासायनिक मलको प्रयोग गर्दै आएका छन । रासायनिक मलको प्रयोग बढ्दा त्यसको असर उर्वर माटोमा परिरहेको छ । रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्ति नास हुँदा त्यसको असर मानविय स्वास्थ्यमा समेत पर्दै छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा असर पर्न थालेपछि पछिल्लो सयम कृषिमा जैविक पद्धति अपनाउनुपर्ने आवाज उठ्न थालेको छ । कृषिमा जैविक पद्धतिको प्रयोगले कृषि उत्पादनमा वृद्धि हुनुका साथै माटोको उर्वराशक्ति समेत जोगिने भएकाले निड्स नेपालले कृषिमा जैविक विधि अवलम्बन गरिनुपर्ने योजना अघि सारेको छ ।

कञ्चनपुरमा केन्द्रिय कार्यालय रही विभिन्न जिल्लाहरूमा फरकफरक क्षेत्रमा रहेर काम गरिरहेको निड्स नेपालले कृषिमा जैविक विधि अवलम्बन गरिनुपर्ने योजना अघि सारेको हो । निड्स नेपालले विभिन्न सङ्घसंस्थाहरूको सहयोगमा कृषकहरूलाई जैविक विधि र त्यसका फाइदाको बारेमा जानकारी दिने काम गर्न थालेको छ ।

add everest academy
attariya hospital

सोमबार संस्थाले गोदावरी नगरपालिका – ४ का कृषकहरूलाई सो बारेमा जानकारी दिन तालिमको आयोजना गरेको छ । ५ दिने उक्त तालिममा वडाका ३ वटा महिला कृषक समुहका किसानहरूको सहभागिता रहेको थियो । २७ गते सम्म सञ्चालन हुने पहिलो चरणको तालिममा २ वटा महिला कृषक समुहका ३० जना किसानहरू सहभागी रहेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले जानकारी दिए ।

उनले ५ दिने उक्त तालिम समाप्त भएलगत्तै ५ दिने अर्को तालिम आयोजना गरेर ३० जना किसानहरूलाई पुनः सहभागी गराइने बताए । उनले तालिम पश्चात किसानहरूको बाली उत्पादन सम्म किसान पाठशाला सञ्चालन गरिने बताए । उनले तालिममा सिकाइएको सीपलाई किसानहरूले कसरी प्रयोगमा ल्याइरहेका छन भन्ने बारेमा जानकारी लिन पनि उक्त पाठशाला सञ्चालन गरिने बताए । ‘हामीले एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली अन्तर्गतका ४ लक्ष्यहरूको आधारमा काम गर्नेछौ’ उनले भने ‘जसमा किसानहरूलाई दक्ष बनाउने, खेतबारीको नियमित अवलोकन गर्ने, शत्रुजीव तथा मित्रजिवको पहिचान गर्ने र जैविक विधि प्रयोग गर्ने विषय समावेश हुनेछन ।’

तालिममा कृषि कार्यमा जैविक विधिको प्रयोग र त्यसबाट हुने फाईदाहरुका बारेमा जानकारी दिइने उनको भनाई छ । ‘नेपालमा बढी जसो क्षेत्रमा कृषि कार्य गर्ने गरिएको छ, तर रासायनिक मलको प्रयोगले हामीले वर्षेनी माटोको उर्बरा शक्ति नास गर्दै गइरहेका छौ’ उनले भने ‘निड्स नेपालले कृषकहरूमा रासायनिक मलका असरहरुका बारेमा जानकारी गराई उनीहरुलाई जैविक विधिको प्रयोगतिर जोड दिने वातावरण तयार गर्ने काम गरिरहेको छ ।’ रासायनिक मलको प्रयोगले मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने भएकाले कृषिमा जैविक विधि अपनाउन अनिवार्य रहेको उनले बताए ।

attariya technical collage
navjiwan hospital

सोमबार वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्लको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । उक्त तालिममा सहभागीहरूलाई कृषि प्राविधिक अमर जाग्रीले प्रशिक्षण दिइरहेका छन । निड्स नेपालले वडाबासीहरुलाई कृषिमा आत्मनिर्भर बनाउने काम गरिरहेको वडाध्यक्ष मल्लले बताएका छन । उनले वडाका विकट क्षेत्रमा गएर समेत निड्स नेपालले किसानहरुलाई कृषिक्षेत्रमा आइपर्ने समस्याहरुको समाधानका बारेमा जानकारी दिदै आएको बताए । ‘यो संस्थाले वडाका विकट क्षेत्रमा समेत गएर किसानहरुलाई सहयोग गरेको छ’ उनले भने ‘संस्थाकै तालिमका कारण अहिले वडाको माथिल्लो भेगका किसानहरु कृषिक्षेत्रमा आउने सामान्य समस्याको आफै समाधान गर्ने गरिरहेका छन ।’ उनले निड्सले प्रदान गरिरहेको कृषिमा जैविक विधि सम्बन्धीको तालिम एकदमै महत्वपुर्ण रहेको बताए । ‘कृषिमा यो तालिम एकदमै महत्वपुर्ण छ, रासायनिक मल प्रयोग गरेर मानविय स्वास्थ्यलाई हामीले रोगी बनाईरहेका छौ’ उनले भने ‘संस्थाले कृषिमा जैविक विधि प्रयोग गर्ने तरिकाहरु समेत सिकाइरहेको छ, यो भन्दा राम्रो तालिम कृषकहरूका लागि अरु हुन सक्दैन ।’ उनले आफ्नै वरपर भएका अर्गानिक वस्तुहरूबाट जैविक मल बनाउने सकिने भएकाले उक्त मल माटो एवम् स्वास्थ्य दुवैका लागि फाइदाजनक रहेको बताए ।

रासायनिक मलले पार्ने असर

रासायनिक मलको बढ्दो प्रयोगले मानवीय स्वास्थ्यमा असर गर्ने मात्रै नभई यसको प्रयोगले जल प्रदुषण हुने, वायु प्रदुषण गर्ने, माटोको उर्बरा शक्ति ह्रास हुने, माटोको बनोट परिवर्तन हुने लगायतका विभिन्न असरहरू हुने गर्दछन् ।

यसले सबैभन्दा बढी जलमा असर गर्ने गर्दछ । खासगरी जमिन मुनीको पानी प्रयोग हुने स्थानमा यसको असर बढी हुने गर्दछ । किसानले खेतबारीमा प्रयोग गर्ने रासायनिक मल बिभिन्न माध्यमबाट पानीका स्रोतहरूमा मिसिई पानीलाई प्रदूषित बनाउने गर्दछ । जसको प्रयोगले मानव स्वास्थ्य मात्र होइन, अन्य जलचर प्राणीहरुलाई समेत प्रतिकूल असर गर्दछ । तराई क्षेत्रमा विशेषगरी पिउन तथा अन्य प्रयोजनको लागि जमिनमुनिको पानी प्रयोग गरिन्छ, जसमा माटोमा प्रयोग गरिएको रासायनिक मलको मात्रा मिसिएको हुन्छ ।

त्यतिमात्रै नभई यसको बढ्दो प्रयोगले बिरुवामा पातहरु पहेलिने, झर्ने, जल्ने तथा काण्डहरु खुइलिने र अन्तिममा बिरुवा नै मर्ने जस्ता लक्षणहरू देखिन्छन् । विशेषगरी नाइट्रोजन परिपूर्ति गर्न युरिया जस्ता मलको अनियन्त्रित प्रयोगले पातहरु जल्ने समस्या बढी हुन्छ । यस्तै रासायनिक मलको प्रयोगले सुक्ष्म जीवाणुहरुलाई समेत असर गर्दछ । स्वस्थ माटोमा थुप्रै उपयोगी र फाइदाजनक सूक्ष्म जीवाणुहरू रहेका हुन्छन् । प्राङ्गारिक मलको प्रयोगले त्यस्ता सूक्ष्म जीवाणुहरुलाई व्यापक फाइदा पुग्छ भने रासायनिक मलको प्रयोगले सूक्ष्म जीवाणुहरूका गतिविधिलाई निष्क्रिय पारिदिन्छ ।

माटोलाई स्वस्थ बनाउन र पोषक तत्वहरुलाई चलायमान बनाउन भरपुर सघाउने त्यस्ता उपयोगी सूक्ष्म जीवाणुहरू रासायनिक मलको प्रयोगले नष्ट भएमा वा तिनीहरूको गतिविधिमा प्रतिकूल असर परेमा उत्पादन र माटोको स्वास्थ्य दुवै जोखिममा पर्दछन् । यस्तै रासायनिक मलको प्रयोगले माटोको बनोट परिवर्तन गर्ने कार्य गर्दछ ।

यसले माटोमा सल्फ्युरिक र हाइड्रोक्लोरिक अम्लको मात्रा बढाइदिन्छ । जसले माटोलाई फुक्न दिँदैन र माटोका कणहरुलाई एकआपसमा बाँधेर माटोलाई नरम र खुकुलो हुनबाट पनि रोक्छ । माटोका कणहरु एकआपसमा कस्सिदा माटोको पानी धारण गरेर राख्ने क्षमता घटि पानीको निकास बढ्छ साथै माटोको सतह कडा भएर पानी र हावाको आवतजावतमा समेत असर पुग्छ । यसको कारणले गर्दा माटोको क्षयिकरण हुन्छ । त्यसैकारण माटोको उर्वराशक्तिमा पनि यसले असर पु¥याउने गर्दछ । रासायनिक मलको प्रयोगले अप्रत्यक्ष रुपमा वायु प्रदुषण पनि गर्ने गर्दछ । विशेषगरी नाइट्रोजन युक्त मलहरूको प्रयोगले वायुमण्डलमा नाईट्रोस अक्साईड जस्ता हानिकारक ग्यासहरु को मात्रा बढाइरहेका छन् । यस्ता ग्यासहरूको प्रत्यक्ष प्रभाव हरितगृहमा परिरहेको छ ।