अत्तरिया – कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका भवन सञ्चालनमा नआउँदै जीर्ण बन्ने चिन्ता गरिन थालेको छ । सुदूरपश्चिमको स्वास्थ्य र चिकित्सक शिक्षा क्षेत्रमा ठूलो फड्को मार्ने योजनाको रुपमा लिइएको भएपनि अधिकांश भवन २ वर्ष अघि निर्माण भइसक्दा पनि प्रयोगमा आएका छैनन् ।
अस्पताल पूर्वाधार समितिका अनुसार अस्पतालको प्रशासनिक भवन २०७६ साल चैत्र महिनामै निर्माण सम्पन्न भएको थियो । अस्पताल पूर्वाधार समितिका इन्जिनियर पवन रावलका अनुसार अस्पतालको कलेज भवन २०७७ मंसिर १५ गते, ३ सय शैय्याको अस्पताल भवन २०७८ असार ११ गते, हस्पिटल भवन २०७८ असार १३ गते नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको थियो । अस्पताल र चिकित्सा शिक्षा सञ्चालन गर्नको लागि आवश्यक मुख्य भवनहरू २ वर्ष अघि नै निर्माण सम्पन्न भइसकेका भएपनि हालसम्म पनि सञ्चालनमा भने आउन सकेका छैनन् ।


धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भवन चाडो सञ्चालनमा नआउँदा मर्मतका लागि पैसा छुट्याउनुपर्ने स्थिति आउने बताए । ‘यहाँ एक पुस्ता जान लागिसक्यो । यहाँ सबै संरचना निर्माण भइसकेका छन । अब एक डेढ वर्षमा सञ्चालन भएनन् भने हामीले मर्मतको लागि पैसा छुट्याउनुपर्ने स्थिति छ’ उनले भने ‘यो विषयलाई सिरियस्ली लिन आवश्यक छ ।’
उनले तिन वर्ष मेडिकल नचलाई चिकित्सा शिक्षाका लागि सम्बन्धन नपाइने भएकाले नै विश्वविद्यालयको कुरा अगाडि सारिएकोले विश्वविद्यालय बनाउँदा पनि ३ वर्ष कुर्नुपर्ने अवस्था आउन नहुने बताए । ‘विश्वविद्यालय बनाएर पनि सम्बन्धनका लागि ३ वर्ष कुर्ने कुरा स्वीकार्य हुँदैन’ उनले भने ‘यसरी प्रत्येक वर्ष १००/१०० बेड थप्दै जाँदा ३ वर्ष त ३ सय बेडको अस्पताल पु¥याउन लाग्छ त्यसमा ३ सय बेडको अस्पताल सञ्चालन भएको ३ वर्ष कुर्ने हो भने धेरै समय जान्छ ।’ उनले आफूहरूको माग विश्वविद्यालय मात्रै नभएर तत्कालबाटै पढाइ सुरु हुनुपर्ने बताए ।


गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले पनि विश्वविद्यालयको काम भइरहेको भनिएपनि यसमा ढिलो भएको बताए । उनले हाल सञ्चालन गरिएको अस्पतालले पनि कर्मचारी नपाएको बताए । ‘हाल १४१ जनाको दरबन्दी निर्धारण गरिएको भएपनि कर्मचारी पदपूर्ति भएका छैनन्’ उनले भने ‘कर्मचारी न माथिबाट पठाइएको छ, न अस्पतालका मेसुलाई दरबन्दी खोल्ने अधिकार दिइएको छ । स्वस्थ जस्तो क्षेत्रमा यस्ता ढिलासुस्ती राम्रो होइन ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले हाल निर्माण सम्पन्न भएका भवन तत्काल सञ्चालनमा नआए यसको मर्मत गरी सञ्चालन गर्नको लागि अझ खर्च लाग्ने बताए । विश्वविद्यालय सञ्चालन गर्नको लागि श्वेतपत्रम जारी गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ । ‘टाइमलाई के हुने, एक्टिभिटिज के हुन, कुन काम कसले गर्ने, भनेर एक्सन प्लान जारी गरौँ । त्यही अनुसार काम गर्न सके यसलाई चाडो सञ्चालनमा ल्याउन सकिन्छ । नत्र यस क्षेत्रका जनताले कति कुर्ने कति सहने भएको छ’ उनले भने ‘हामी यती ठूलो संरचना बनाएर तमासा देखिरहेका छौ चर्चा मात्रै गरिरहेको छौ अब छिटो काम होस ।’


पूर्व सांसद दीपक भट्टले माघ २९ गते विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्बाबाट निर्णय भएर पनि काम अगाडि बढ्न निकै ढिलाई भएको बताए । उनले तत्काल अस्पताल सहित पढाई सुरु गर्नुपर्ने बताए । ‘विधेयक पारित गरेर एमबीबीएस तत्काल पढाइ गर्न नसके पनि नन क्लिनिकल कोर्ष बिएससी नर्सिङ, बी फर्माका कक्षा सञ्चालन गर्न सकिन्छ’ उनले भने ‘टीकापुर, सेती, महाकाली, बयलपाटा अस्पताललाई यसैको सम्बन्धित क्याम्पस बनाएर एकैचोटी नन क्लिनिल र त्यसपछि एमबीबीएस कोर्ष पनि सञ्चालन गर्न सकिन्छ । अब हामी धेरै कुर्न सक्दैनौ ।’ उनले विश्वविद्यालय बनेपछि सम्बन्धन दिन नपाउने प्रावधान हालको विधेयकमा राखिएकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए ।
सांसद बद्रि पाण्डेले गेटामा विश्वविद्यालय सञ्चालनका लागि राजनीतिक प्रपोगण्डा बनाउन नहुने बताए । ‘अहिले को विश्वविद्यालयको पक्षमा छ को विपक्षमा छ भनेर बहस गर्ने समय होइन्’ उनले भने ‘यसलाई राजनीतिक प्रपोगण्डा बनाएर आफ्नो हात माथि गर्ने स्वार्थले काममा झन ढिला हुने भएकाले सबै एक ठाउँमा उभिन आवश्यक रहेको छ ।’ उनले नेपालमै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनिरहेकाले यसको व्यवस्थापकीय तयारी, साधन श्रोतको व्यवस्थापन गर्ने तिर ध्यान दिन आवश्यक रहेको बताए ।
प्रदेश सांसद प्रकाश बमले विश्वविद्यालय बनाएपछि मेडिकल कलेज सञ्चालनका लागि कुनै समस्या नहुने भएकाले अध्यादेशका रुपमा विधेयक ल्याएर भएपनि चाडो काम सुरु गर्नुपर्ने बताए । उनले हाल बनेका संरचना भैँसी गोठ बनेकाले यसमा राज्यले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए ।
विश्वविद्यालय संघर्ष समितिका संयोजक लोक राज पाण्डेले अहिले स्वास्थ्य चौकी बनाउने अभियान परास्त गर्न सफल भएपनि अझै ढुक्क हुने अवस्था नभएको बताए । ‘देशभरीमा ३० वडा मेडिकल कलेज हुँदा सुदूरपश्चिममा एक पनि मेडिकल कलेज सञ्चालन भएको छैन’ उनले भने ‘यहाँबाट अहिले पनि धेरै मानिस उपचारका लागि भारत जानुपर्ने बाध्यता छ । त्यसले अझै यसमा ढिलाई गरिनुहुँदैन ।’ उनले विधेयकमा राष्ट्रिय शब्द हटाइएको, सम्बन्धन दिने कुरा हटाइएकोले यसलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले अझै पनि यसलाई १ बेडकै अस्पतालमा सीमित राख्ने चलखेल भइरहेकाले सजग हुन आवश्यक रहेको बताए ।
हाल विश्वविद्यालय अन्तरगत सञ्चालन गरिएको अस्पतालमा दैनिक २० देखि २५ जनाले मात्रै सेवा लिइरहेका छन । अस्पतालका लेखा अधिकृत मदन पाण्डेले हालसम्म अस्पतालमा ७२१ जनाले सेवा लिएको बताए ।
सञ्चालन भएको अस्पताल पनि लथालिङ्ग अवस्थामा रहेको स्थानीय गोकर्ण भट्टले बताए । ‘अस्पताल सञ्चालन गरिएपनि किन थोरै सङ्ख्यामा बिरामी आइरहेका छन । यहाँ के कारणले दिनमा २०/२५ जना मात्रै बिरामी आइरहेका छन । यो त अस्पताल नै भएन’ उनले भने ‘विश्वविद्यालय बनाउने हो भने यस्तो अस्पताल सञ्चालन गरेर भएन ।’
सांसद हरि चौधरीले अहिले अस्पताल सञ्चालन गर्नको लागि शिक्षा र स्वास्थ्य मन्त्रालय बीचको विवादका कारण समस्या भएको बताए । जसले गर्दा अस्पतालले पनि विभिन्न अभाव झेलिरहेको उनको भनाई छ । उनले भने ‘दरबन्दी अनुसारका कर्मचारी पनि पूर्ति भएका छैनन् । अस्पतालले १ सय बेडको अस्पताल चलाउन पनि भवन नपाएको अवस्था छ ।’

















