अत्तरिया – कैलालीको अत्तरिया चोकमा अधुरो रहेको कालोपत्रेको काम गर्न २ बर्ष पछि ठेकेदार फर्किएका छन । आर्थिक वर्ष २०७७/०७८ मै सकिनुपर्ने कालोपत्रेकाे काम छोडेर बेपत्ता भएका ठेकेदार २ वर्ष पछि बाँकी काम गर्न फर्किएका हुन ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत चोकमा कालोपत्रे गर्न भुवन निर्माण सेवा प्रालि सँग ९० लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार पहिलो लेयर डिबिएम र दोस्रो लेयर अस्फाल्ट गरिनुपर्नेमा पहिलो लेयरको काम गरेर ठेकेदार बेपत्ता भएका थिए ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पियुस चटौतले बल्लतल्ल ठेकेदारलाई सम्पर्कमा ल्याएर काम सुरु गरिएको बताए । सडक निर्माणका लागि भुवन निर्माण सेवा संग २०७८ जेठ १९ गते ठेक्का सम्झौता भएको थियो ।

२०७८ असार मसान्त भित्र काम सक्ने गरी चोकको चारैतिर कालोपत्रे गर्ने सम्झौता भएपनि मौसमले साथ नदिएको भन्दै २०७८ कार्तिक २५ गते सम्म म्याद थप गरिएको थियो । सो अवधिमा ठेकेदारले एक लेयरको मात्रै काम गरेका थिए ।
थपिएको अवधिमा पुरा काम नभएपछि सडक कालोपत्रे गर्न २०७९ कार्तिक मसान्त (१ वर्ष) म्याद थपिएको थियो । सडक डिभिजन कार्यालयका अनुसार त्यसपछि ठेकेदार सम्पर्क विहीन भएका थिए ।
सडक डिभिजन कार्यालयले चोक मर्मतका लागि १ करोड ६६ लाखको बोलपत्र आह्वान गरेको भएपनि भुवन निर्माण सेवाले ४० प्रतिशत बिलोमा गत आर्थिक ठेक्का सम्झौता गरेको थियो ।
सम्बन्धित समाचार

















