महेश कुमार महर/ अत्तरिया – लामो समयदेखि कालोपत्रेको काम अधुरो छोडिदा अत्तरिया चोक कुरुप बनेको छ । आर्थिक बर्ष २०७७/०७८ मा नै काम सक्ने गरी भएको सम्झौता अनुसार चोक कालोपत्रे नहुँदा सडक कुरुप बनेको हो । उक्त सडक निर्माणका लागि २०७८ जेठ १९ गते भुवन निर्माण सेवा प्राली धनगढी संग ९० लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७८ असार २५ गते काम सम्पन्न गर्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप गर्दा पनि ठेकेदारको बेवास्ताका कारण काम सम्पन्न हुन सकेको छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरी सुवेदीले ठेकेदार सम्पर्क बिहिन नै नभएपनि काम भने नगरिरहेको बताए । उनले थोरै काम बाँकी भएपछि पटक–पटक ताकेता गर्दा पनि काम नगरेको बताए । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पियुस चटौतले ठेकेदारले मुल्य वृद्धि लगायतका कारण देखाउँदै काम गर्नमा ढिलाइ गरेको बताए । अहिले खरिद नियमावली १२ औं संसोधन अनुसार म्याद थप गरेर ठेकेदार कम्पनीले काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

‘ठेकेदारले अब दशैं भन्दा अगाडी काम गर्छु भन्ने प्रतिवद्धता जनाउनु भएको छ’ उनले भने ‘हामीले पटक–पटक मौखिक, लिखित ताकेता गर्दा पनि ठेकेदारले काम गरेनन् ।’ उनले अब नयाँ म्याद कार्तिक मसान्त सम्म थप गरिएको बताए । सुरुमा २०७८ असार २५ गते सम्मको म्याद दिइएकोमा काममा ढिलाई हुँदा २०७८ कार्तिक मसान्त सम्म म्याद थपिएको थियो । थपिएको म्यादमा पनि अहिले काम नहुँदा अब २०७९ कार्तिक मसान्त सम्म म्याद थपिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चटौतले हाल सम्म काम सम्पन्न भए अनुसार ६० लाख भुक्तानी भएको बताए । चोकमा पहिलो लेयरको कालोपत्रे गरेपछि हिलाम्मे र धुलाम्मे हुने समस्या हटेको भएपनि दोस्रो लेयरको असफल्टको काम बाँकी रहेको छ ।
पहिलो लेयरमा गरेको कालोपत्रे पनि राम्रोसंग नगरिदा सडक नागबेली जस्तो बनेको छ । चोकमा बिच भागको डिभाईडर पनि व्यवस्थित हुन सकेका छैनन् । चोकमा दोस्रो लेयरको कालोपत्रे गर्न बाँकी रहेका कारण अहिले मोहना–अत्तरिया ६ लेन सडक भन्दा चोक गहिरो बनेको छ । उता भुवन निर्माण सेवा प्रालीका संचालक भुवनेश्वर पन्तले म्याद थप भएकाले थपिएको म्याद भित्र काम सम्पन्न गर्ने बताए ।
‘काम सम्पन्न हुन नसक्नुका कारण धेरै छन । भनेर साध्य छैन’ उनले भने ‘मैले पहिलो लेयरको काम एकदमै राम्रो गरेकाले अहिले सम्म कुनै समस्या आएको छैन ।’ उनले ८० प्रतिशत काम सकिसकेकाले अब २० प्रतिशत मात्रै काम बाँकी रहेको बताए ।
‘इक्युभमेन्टको अभाव हुँदा अहिले काम गर्न सकेको छैन । म संग इक्युभमेन्ट नभएकाले मैले पनि भाडामा लिनुपर्ने हो’ उनले भने ‘धेरै काम भएपनि उत्तिकै सामान चाहिने थोरै काम भएपनि उत्तिकै सामान जुटाउनुपर्ने हुन्छ । त्यसैले समस्या भएको हो ।’ उनले २/३ दिनको मात्रै काम भएकाले अब केही दिनमा काम सम्पन्न गर्ने दाबी गरे ।
