खाेज्नुहाेस

उखु खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसान

Image

कञ्चनपुर – वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन । टे«न्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन ।

चार बिघा जग्गामा रानाले उखु खेती गर्नुभएको छ । ‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो’, उनले भने, ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

attariya hospital

‘उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ’, उनले भने, ‘उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।’

मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी रु एक लाखदेखि एक लाख ३० हजारसम्म खर्च आउने गरेको उनले बताए । घरमै बसी बसी आम्दानी हँुदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उनले बताए ।

उनका अनुसार एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ । ‘वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट तीन लाख कर्जा निकालेर वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बसे’ उनले भने, ‘मासिक रुपमा ५० हजार तलब पाइन्छ भन्ने दलालको प्रलोभनमा परेर त्यसतर्फ लागेको थिए, जब काम गर्न कम्पनीमा गए, त्यसपछि मात्रै महिनाको २० हजार तलब पाइने थाहा पाएँ ।’

navjiwan hospital

मासिक रुपमा पाइने तलबमा खाना खर्च ब्यहोर्नु पर्ने भएकाले १५ हजार जति मात्रै बचत हुने गरेको विगत सम्झँदै बताए । तलबको केही रकम बचत गरी साहुको ऋण तिर्न भ्याएपछि घर फर्केको उनले उल्लेख गरे । वैदेशिक रोजगारीमा गएको भए पनि घर फर्कंदा रित्तो हात फर्केको तीतो अनुभव उनले सुनाएका छन ।

कम्पनीमा इलेक्ट्रोनिकसम्बन्धी काम सिकेकाले हाउस वाइरिङको काम गर्न थालेपछि केही रकम जम्मा गरी उखु खेतीलाई व्यावसायिक रुपमा गरेको उनको भनाइ थियो ।

‘उखु खेतीसँगै हाउस वाइरिङको काम पनि गर्छु,’ उनले भने, ‘श्रीमतीले सिलाइकटाइको काम गर्नुहुन्छ, उखु खेतीको आम्दानीसँगै श्रीमान्श्रीमती दुवै जनाले गर्ने कामबाट वर्षमा रु तीन लाख जति अतिरिक्त आम्दानी हुन्छ ।’

विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहज रुपमा आम्दानी लिन सकिने उनले बताए । उनले भने ‘त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।’

राना जस्तै कालागौँडी गाउँका ७० बढी किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित कालागौँडीका किसानको वार्षिक आम्दानी तीन लाख देखि १२ लाखसम्म रहेको वडाअध्यक्ष नवल सिंह राना बताए । ‘उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ’, उनले भने, ‘किसानको आम्दानी बढछ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ ।’

रासस