चीनको हाङचउमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
हाङचउमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । यसै खेलबाट क्रिकेटको स्वर्ण र रजत पदक टुंगोसमेत लाग्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।


पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । अफगानिस्तानको लागि नुर अली जदरानले ३९ रनको योगदान दिए भने कप्तान गुलाबदिन नैबले अविजित २६ रनको योगदान दिए ।
पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए । त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए ।
अफगानिस्तानका फारिद अहमदले तीन विकेट लिए भने क्विस अहमदले दुई विकेट लिए । भारत र अफगानिस्तानबीचको फाइनल खेल शनिबार हुदैँछ ।


















