बझाङ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङका भूकम्प पीडितका घर बनाइदिने आश्वासन दिएका छन् । शुक्रबार बझाङ सदरमुकाम चैनपुर नजिकै भोपुर ब्यारेकमा नेपाली सेनाको हेलिकोप्टरमार्फत अवतरण गरेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले भौतिक संरचना र जिल्लाको क्षतिको बारेमा बुझबिस्तार गरेपछि जिल्ला प्रशासन कार्यालय बझाङमा गरिएको अन्तरक्रिया कार्यक्रममा भूकम्पबाट क्षति भौतिक संरचनाको तत्काल पुनर्निर्माण गरिनुका साथै राहत वितरणका लागि कुनै पनि कसुर नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रधानमन्त्रीले ५ वटा ट्रकमा विभिन्न राहत सामाग्रीहरू आइरहेको बताउँदै पीडित परिवारहरूलाई तिनै तहको सरकारबाट आवश्यक सामग्रीहरू दिने बचनबद्धता गरे । जिल्ला प्रशासन कार्यालयमा गरिएको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भत्केका घरहरूको तत्काल प्राविधिक टोली पठाएर अवस्था बुझेर घरहरूको पुनः निर्माण गर्नका लागि आवश्यक रकम उपलब्ध गरिने बताए । उनले मृतक परिवारलाई २ लाख राहत दिने र घर क्षति भएका परिवारहरूलाई ५० हजार र सामान्य क्षति भएका परिवारलाई १५ हजार तत्काल राहत दिने पनि घोषणा गरेका छन् ।
गतवर्ष बाढिपहिरोबाट क्षति भएका परिवारलाई सरकारबाट उचित राहत र पुन निर्माणको काम नभएको जनगुनासो गरिरहेका बझाङ बासीहरूले अहिलेको भूकम्पबाट क्षति भएका व्यक्ति परिवारहरूलाई सरकारले दिने राहतमा ढिला सुस्ती नगर्न जिल्ला बासीका तर्फबाट प्रतिनिधि सभा सदस्य माननीय भानुभक्त जोशीले सुझाव दिएका थिए । शुक्रबार हेलिकप्टर मार्फत बझाङ आएका प्रधानमन्त्री संगै गृहमन्त्री नारायणकाजी क्षेष्ठ, रक्षा मन्त्री पुर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउद लगायत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह लगायत सरकारका व्यक्तिहरूले सदरमुखकाम चैनपुरमा भूकम्पबाट क्षति भएका घर टहरा र सार्वजनिक भवनहरूको स्थलगत निरीक्षण गरेका थिए ।
बझाङ जिल्लामा असोज १६ गते ६.३ रेक्टरको भुकम्प आएर एक जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । यस्तै सार्वजनिक संस्थाका भवन गरी जिल्लामा पूर्ण क्षति १ सय ५८ घर, आंशिक क्षति ५ सय ५३ घर, सामान्य क्षति ५सय ३५ घर क्षति भए पछि सङ्घीय सरकार र प्रदेश सरकारको टोली बझाङ आएको थियो । भूकम्पले पारेको अवस्थाबारे बुझ्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालको टोली र प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोली शुक्रबार फिर्ता भएको छ । २०३७ साल पछिको बझाङमा ठुलो भूकम्प आएको हो ।


















