खाेज्नुहाेस

बैतडीका साहित्यकार दयालको “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

Image

काठमाडौं – साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण” लोकार्पण गरिएको छ । बाह्र सर्जकहरुको अभियान “हामी र हाम्रो कृति” संस्थाले शनिबार सामाजिक विकास समाज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार दयालको मुक्तककृति “रुपान्तरण”को लोकार्पण गरिएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समालोचक प्रा.डा. गोविन्दमान सिंह कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा (संविधानसभा सदस्य), विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, लेखक कर्ण दयाल “सोराडी”लगायतले कृतिको सयुक्त रुपमा लोकार्पण गरेका थिए।

attariya hospital
navjiwan hospital

लोकार्पित कृतिमा २७० मुक्तक रहेका छन् । साहित्यकार नम्रता उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन साहित्यकार भुवन सिवाकोटीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्की, अध्यक्ष लेकाली, साहित्यकारहरु युवराज नयाँघरे, पदमलाल विश्वकर्मा, विजयध्वज थापा, माधव विडारी, प्राज्ञ पन्चकुमारी परियार, मदन नेपाल, दिपक पनेरु र लेखक कर्ण दयाल “सोराडी” लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिबाट सर्जकहरु प्रकाश घायल, लव खड्का, सुभद्रा अधिकारी, विष्णु थापा, माया उपाध्याय, बद्री उप्रेती, उदास कार्की, नम्रता उप्रेती, नवराज पोखरेल र पुष्कर बिकले मुक्तकहरु वाचन गरेका थिए। लोकार्पित कृतिमा देशको पीडा, राष्ट्रियता, विकृति – विसङ्गति, भेदभाव, स्वाभिमानका कुरा, सामाजिक व्यवहारका कुरा, स्वतन्त्रता र न्यायका कुरालाई सम्बोधन गरिएको साहित्यकार दयालले बताएका छन ।

बैतडीमा निवासी साहित्यकार दयालका पाँच गजल कृति, एक कविता कृति र एक लघुकथा कृति (संयुक्त १२ जनाको १०८ ओटा लघुकथा) प्रकाशित रहेका छन् भने “सोराडी”ले नाटक, देउडा गीतहरु पनि लेख्दै आएका छन । साहित्यकार दयालले दुई दर्जन सम्मान र पुरस्कार समेत पाइसकेका छन । कार्यक्रममा साहित्यकारहरु पवन आलोक, बद्री उप्रेती, डी. आर. राई, ईश्वर श्रेष्ठ सुरेश वैद्य लगायतको उपस्थिति रहेको थियो ।