अत्तरिया – कैलालीमा प्रदेश गौरवको अढाइ किलोमिटर सडक ३ वर्षसम्म पनि निर्माण नभएपछि पुनः १ वर्ष म्याद थप गरिएको छ । चौकीडाँडा फल्टुडे सडक अन्तरगत प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले निर्माण गरिरहेको अढाइ किलोमिटर सडक ३ वर्ष सम्म नबनेपछि पुनः १ वर्ष म्याद थपिएको हो । कार्यालयले सडक निर्माणको लागि २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभी सँग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार सडक निर्माणको काम २०७८ माघ १७ गते सकिनु पर्नेमा तेस्रो पटक म्याद थप गर्दा पनि ४० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ । निर्माण कम्पनीले पहिलोपटक तोकिएको म्यादमा काम नसकेपछि दोस्रो पटक २०८० असार मसान्त सम्मका लागि म्याद थप गरिएको थियो । थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि हाल २०८१ असार मसान्त सम्मका लागि म्याद थप गरिएको भौतिक पूर्वाधार विकास कार्यालय सबइन्जिनियर जनक रोकायाले बताए । उनले म्याद थप गरिएपनि हाल काम भने सुरु नभएको बताए । हाल उक्त सडकमा निर्माण कम्पनीले नाला निर्माणको काम पनि पुरा गर्न सकेको छैन ।


चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले गौरवको योजनामा राखेर क्रमागत योजनामा राखेर काम अगाडि बढाएको थियो । प्रदेश सरकारले निर्माण सुरु गरेको पहिलो खण्डको काम नसकिदै गत आर्थिक वर्षमा पुनः थप ३ किलोमिटर सडक कालोपत्रे गर्नको लागि नयाँ ठेक्का गरिसकेको छ । ३ किलोमिटर थप सडक कालोपत्रे गर्नका तेडी निर्माण सेवा सँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको छ । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ । दोस्रो खण्डको काम पनि हाल सुरु हुन सकेको छैन । पहिलो खण्डको सडक निर्माणको लागि थेगिङ संग ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो ।

चौकीडाँडा फल्टुडे सडकलाई प्रदेश सरकारले लथालिङ्ग पारेपछि हाल संघीय सरकारले पनि उक्त सडकमा काम सुरु गर्नको लागि प्रक्रिया अगाडि बढाएको छ । तर, संघीय सरकारको काम पनि अझै सुरु हुन सकेको छैन ।
गोदावरी नगरपालिका – १२ का वडा अध्यक्ष भीम खड्काले सडक निर्माणमा ढिलाई हुँदा ओलानीबासीले आवतजावतमा निकै हैरानी खेपिरहनु परेको बताए । उनले सडकमा प्रदेश, संघ र एडिवीको योजना परेपनि ओलानीसम्म कालोपत्रे सडक भने जोडिन नसक्दा निकै समस्या भोग्नु परेको बताए । हाल संघिय सरकारले पनि सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाएकाले सडक बन्ने आशा बढेको स्थानीयले बताएका छन ।

चौकीडाँडा फल्टुडे सडक ओलानी क्षेत्र भएर जाने भएकाले त्यस क्षेत्रका जनताले यो सडक बनेपछि लाभ लिने अपेक्षा गरिएको छ । तर, सडक निर्माणमा निकै ढिलाई हुँदा भने त्यस क्षेत्रका जनता निरास छन । वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडौलाले प्रदेश सरकारले चौकीडाँडा फल्टुडे सडकलाई प्रदेशको गौरवको योजनामा राखेर पनि चालु आर्थीक बर्षमा बजेट विनियोजन नगर्दा सडक निर्माण हुनेमा अन्योलता बढेको बताए । उनले हाल संघीय सरकारले काम अगाडि बढाउने भनेकाले सडकले गति लिनेमा आफूहरू आशावादी रहेको बताए ।
चौकीडाँडा फल्टुडे सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रुपमा पनि लिने गरिन्छ । ३४ किलोमिटर रहेको उक्त सडकको ट्रयाक खुलेको भएपनि २२ किलोमिटरको मात्रै डिपिआर तयार भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।















