काठमाडौं – आज (शुक्रबार) देखि दुई वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा अभिनेता सलोन बस्नेत अभिनीत फिल्म ‘जय हो’ र मेनुका प्रधान अभिनीत ‘महानगर’ रिलिज भएका हुन् ।

कमेडी–लभस्टोरी जनरामा निर्माण भएको जय हो फिल्मका निर्देशक टेक पौरखी राई हुन् । यस फिल्मलाई मल्टिप्लेक्सहरूले राम्रो शो उपलब्ध गराएका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको अभिनय रहेको छ ।

सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन सौरभ लामाको छ । त्यसैगरी सम्पादन बनिश शाहको र लेखन सुरेश न्यौपानेको छ ।
आजैबाट प्रदर्शनमा आएको अर्को फिल्म महानगरलाई मोहन राईले निर्देशन गरेका छन् । फिल्ममा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेलल गायतको अभिनय छ । यस फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् भने फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् ।



















