खाेज्नुहाेस

युवा दिवस : एक दिनको उत्सवमा मात्र सीमित कहिले सम्म

Image

लवदेव धामी – आज विश्व युवा दिवस । संसारभरका युवाहरूका कुरा हुँदैछन् । युवा शक्ति, युवा सहभागिता, युवा नेतृत्व, युवा अधिकार, युवा भविष्यलगायतका विषयमा बहस भइरहेका छन् । नेपालमा पनि युवा दिवस मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । भाषण भइरहेका छन् । शुभकामना आदानप्रदान भइरहेका छन् । युवाका नाममा प्रतिबद्धताहरू व्यक्त भइरहेका छन् ।

तर मेरो मनमा एउटा प्रश्न छ, युवा दिवस भनेको के हो ? के यो कुनै पर्व हो ? के यो केवल खुसी मनाउने दिन हो ? के यो एउटा कार्यक्रममा सहभागी भएर फोटो खिचाउने र सामाजिक सञ्जालमा शुभकामना लेख्ने दिन मात्रै हो ? वा यो दिन वास्तवमै युवाको अवस्था, उनीहरूको पीडा, सम्भावना र भविष्यबारे गम्भीर भएर सोच्ने दिन हो ?
युवा दिवस मनाइरहँदा मलाई बारम्बार यही प्रश्नले पछ्याइरहेको छ; साँच्चिकै नेपाली युवा खुसी छन् त ? सायद केही युवा खुसी होलान् । कुनै कार्यक्रममा सहभागी भएर, मञ्चमा उभिएर, प्रमाणपत्र लिएर वा सामाजिक सञ्जालमा आफ्नो तस्वीर राखेर केही समय खुसी होलान् । तर त्यही कार्यक्रममा सहभागी भएका सबै युवा आफ्नो भविष्यप्रति ढुक्क छन् भन्ने आधार के छ ?

attariya hospital

युवा दिवसको एउटा कार्यक्रममा सहभागी हुँदैमा युवाको जीवनमा रहेका समस्या समाधान हुँदैनन् । एउटा दिन युवाका लागि भाषण गर्दैमा उनीहरूको बेरोजगारी हट्दैन । एउटा दिन युवाका समस्या सुनाउँदैमा उनीहरूको मानसिक तनाव कम हुँदैन । एउटा दिन युवा उद्यमशीलताको कुरा गर्दैमा युवाले उद्यम गर्ने वातावरण पाउँदैनन् ।

त्यसैले आजको दिन एउटा प्रश्न सोधौँ; हामी युवा दिवस मनाइरहेका छौँ कि, युवाको वास्तविकता लुकाइरहेका छौँ ? आजका युवा प्रविधिमैत्री छन् । संसारमा भइरहेको परिवर्तनलाई सबैभन्दा छिटो आत्मसात गर्ने पुस्ता युवा नै हो । मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चारदेखि विभिन्न प्रविधिको प्रयोगमा नेपाली युवा पनि अगाडि छन् । गाउँको एउटा कुनामा बसेको युवाले पनि संसारका नयाँ प्रविधिबारे जानकारी राख्न सक्छ । केही वर्षअघिसम्म कल्पना गर्न नसकिने कुरा आज एउटा मोबाइलको स्क्रिनमा उपलब्ध छ । यो युवाको ठूलो शक्ति हो ।

प्रविधि आजको युवाको हातमा रहेको एउटा बलियो हतियार हो । यसलाई सही ढंगले प्रयोग गर्न सकियो भने युवाले आफ्नै गाउँबाट संसारसँग प्रतिस्पर्धा गर्न सक्छन् । ज्ञान लिन सक्छन् । सीप सिक्न सक्छन् । रोजगारी सिर्जना गर्न सक्छन् । उद्यम गर्न सक्छन् । आफ्ना कुरा संसारसम्म पु¥याउन सक्छन् । तर प्रश्न फेरि उही हो, के हामीले युवालाई प्रविधि चलाउन मात्रै सिकाएका छौँ कि त्यसको उपयोग गरेर भविष्य बनाउन सक्ने वातावरण पनि दिएका छौँ ? मोबाइल हातमा छ । इन्टरनेट हातमा छ । ज्ञानको पहुँच हातमा छ । तर अवसर कहाँ छ ?
प्रविधिको पहुँचसँगै निराशाको गहिराइ, आजको अर्को कठोर यथार्थ पनि स्वीकार गर्नुपर्छ । हाम्रा कैयौँ युवा कुलतमा छन् । मानसिक समस्यासँग जुधिरहेका छन् । लागूऔषधको दलदलमा फसिरहेका छन् । कैयौँ युवा कारागारका कोठरीमा छन् । कैयौँ सुधारगृहमा जीवन बिताइरहेका छन् । यी सबैको कारण एउटै छैन। परिवार, समाज, आर्थिक अवस्था, बेरोजगारी, संगत, अवसरको अभाव, मानसिक दबाबलगायत धेरै कारणले युवा गलत बाटोमा पुगिरहेका छन् । तर राज्य र समाजले यसलाई केवल युवाको व्यक्तिगत कमजोरीका रूपमा हेरेर पुग्छ ?

युवाले आफ्नो भविष्य देख्न नसक्ने अवस्था सिर्जना गरिदिएपछि त्यसको जिम्मेवारी कसको ? एउटा युवा दिनभर काम खोजेर साँझ घर फर्कन्छ । अर्को युवा विदेश जाने तयारीमा वर्षौं बिताउँछ । अर्को युवा पढाइ सकेर पनि जागिर खोज्दै हिँड्छ । अर्को युवा व्यवसाय गर्ने सोच बनाउँछ तर लगानी, नीति र बजारको अभावमा पछि हट्छ । अनि हामी त्यही युवालाई भन्छौँ; “देशका लागि केही गर ।” तर उसले प्रश्न गर्न पाउँदैन ?

“मलाई केही गर्ने वातावरणचाहिँ कसले बनाइदिने ?”

कोही खाडीमा, कोही सपनाको देशमा, नेपालका गाउँघरमा हेर्नुस् ।

घरमा युवा भेटिँदैन । कतै बुबाआमा मात्रै छन् । कतै वृद्ध हजुरबुबा–हजुरआमा छन् । घरको आँगनमा खेल्ने बालबालिका छन् तर उनीहरूका दाजुभाइ विदेशमा छन् । कैयौँ युवा खाडीका तातो मरुभूमिमा पसिना बगाइरहेका छन् । कतिपय मलेसिया, कतिपय कोरिया, कतिपय युरोप र अन्य मुलुकमा छन् । कैयौँ युवाले अमेरिका, क्यानडा, जापानलगायतका देशमा सुन्दर सपना सजाएका छन् । कोही अध्ययनका लागि गएका छन् । कोही रोजगारीका लागि । कोही स्थायी भविष्य खोजिरहेका छन् ।

विदेश जानु आफैँमा गलत होइन। संसार हेर्नु, सिक्नु, कमाउनु र अवसर खोज्नु गलत होइन ।

तर प्रश्न यो हो; किन हाम्रा युवाले आफ्नो भविष्य नेपालमै देख्न सकिरहेका छैनन् ? किन एउटा सक्षम युवा आफ्नो गाउँमा बसेर केही गर्छु भन्नुभन्दा विदेश गएर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने निष्कर्षमा पुग्छ ?

यो प्रश्न युवालाई होइन, राज्यलाई सोधिनुपर्छ । देशमा भएका युवा पनि कहाँ खुसी छन् ? अब विदेश गएका युवालाई मात्रै सम्झेर हुँदैन । नेपालमै रहेका युवाको अवस्था पनि त्यति सुखद छैन । कसैसँग योग्यता छ तर जागिर छैन । कसैसँग सीप छ तर बजार छैन । कसैसँग सपना छ तर लगानी छैन । कसैसँग जोश छ तर अवसर छैन ।

एकछिन युवाले आफूलाई सम्हाल्छ । “केही गर्नुपर्छ” भन्छ । नयाँ योजना बनाउँछ । केही गर्ने सामथ्र्य जुटाउँछ । तर जब अगाडि बढ्न खोज्छ, वातावरण अनुकूल हुँदैन । फेरि निराश हुन्छ । यही निराशा विस्तारै कुण्ठामा बदलिन्छ । कुण्ठा तनावमा बदलिन्छ । तनावले मानसिक स्वास्थ्यमा असर गर्छ । अनि कतिपय युवा गलत बाटोतर्फ आकर्षित हुन्छन् ।

navjiwan hospital

त्यसैले युवा दिवसमा युवालाई केवल “तिमी देशका कर्णधार हौ” भनेर भाषण गरेर पुग्दैन । कर्णधारलाई जहाज चलाउने अवसर पनि दिनुपर्छ । युवा नेतृत्वमा आएपछि के बदलियो ? हामी लामो समयदेखि भन्दै आएका छौँ; युवा मैत्री नीति चाहिन्छ । युवा मैत्री कार्यक्रम चाहिन्छ । युवा मैत्री शासन व्यवस्था चाहिन्छ । तर अहिले त हाम्रो देशमा युवाले नै शासन गरिरहेका छन् भन्ने अवस्था पनि देखिन्छ । प्रधानमन्त्री नै ४० वर्षभन्दा कम उमेरका छन् । यसले एउटा आशा जन्माउँछ ।

तर प्रश्न फेरि त्यही हो; नेतृत्वमा एउटा युवा आउँदैमा सबै युवा खुसी हुन्छन् त ? एउटा युवा प्रधानमन्त्री हुनु राम्रो कुरा हो । तर देशका लाखौँ युवाको जीवनमा परिवर्तन आउन सकेन भने त्यसको अर्थ के रहन्छ ?

युवाको उमेर मात्र युवा भएर पुग्दैन । सोच युवा हुनुपर्छ । नीति युवा मैत्री हुनुपर्छ । शासनको व्यवहार युवा केन्द्रित हुनुपर्छ । अवसर सिर्जना गर्ने इच्छाशक्ति हुनुपर्छ । एउटा युवा सत्ताको शीर्षमा पुग्नु र लाखौँ युवाले आफ्नो जीवनमा परिवर्तन महसुस गर्नु फरक कुरा हो ।

हामीलाई एउटा युवा अनुहार मात्रै होइन, युवा सोचसहितको राज्य व्यवस्था चाहिएको छ ।

आज नेपाली युवा महँगीसँग जुधिरहेका छन् । दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्नै कठिन हुँदै गएको छ । शिक्षा महँगो छ । स्वास्थ्य महँगो छ । घरभाडा महँगो छ । यातायात महँगो छ । व्यवसाय सञ्चालन गर्न कठिन छ । आम्दानी र खर्चबीचको दूरी बढिरहेको छ । त्यसमाथि करको भार पनि छ ।

युवालाई रोजगारी चाहिएको छ । आम्दानी बढाउने वातावरण चाहिएको छ । उद्यम गर्न सहज नीति चाहिएको छ । तर उसले आफ्नो भविष्यलाई सुरक्षित देख्न सकिरहेको छैन । युवाको जोश र जाँगर मात्रै भएर पुग्दैन । त्यसलाई सही दिशामा प्रयोग गर्ने राज्यको नीति र सामाजिक वातावरण पनि चाहिन्छ ।

युवा दिवसको अर्थ फेरि खोजौँ, युवा दिवस मनाउनुपर्छ। अवश्य मनाउनुपर्छ। तर युवा दिवस केवल कार्यक्रम गरेर, भाषण गरेर, ब्यानर टाँसेर र सामाजिक सञ्जालमा शुभकामना लेखेर सीमित हुनु हुँदैन । आजको दिन हामीले एउटा ऐना हेर्नुपर्छ । त्यो ऐनामा नेपालको युवा देखिनुपर्छ । उसको खुसी देखिनुपर्छ । उसको पीडा देखिनुपर्छ । उसको बेरोजगारी देखिनुपर्छ । उसको विदेशिने बाध्यता देखिनुपर्छ। उसको मानसिक तनाव देखिनुपर्छ । उसको प्रविधिप्रतिको क्षमता देखिनुपर्छ। उसको सिर्जनशीलता देखिनुपर्छ । उसको सम्भावना देखिनुपर्छ ।

र सबैभन्दा महत्वपूर्ण कुरा; उसको भविष्य देखिनुपर्छ । यदि साँच्चिकै युवा दिवस मनाउने हो भने सबैभन्दा पहिला युवालाई खुसी बनाऔँ । युवालाई देशमै बस्ने वातावरण बनाऔँ । युवालाई काम गरौँ भनेर मात्रै नभनौँ, काम गर्ने वातावरण बनाऔँ। उद्यम गर भनेर मात्रै नभनौँ, उद्यम गर्ने वातावरण बनाऔँ । देशमै बस भनेर मात्रै नभनौँ, देशमै बसेर भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाऔँ ।

विदेश जान नपाऊन् भन्ने होइन । तर विदेश जानु बाध्यता होइन, विकल्प बन्ने अवस्था सिर्जना गरौँ । एक दिन होइन, ३६५ दिन युवा दिवस मनाउनु पर्छ । एक दिन युवा दिवस मनाउने अनि बाँकी ३६४ दिन युवालाई आफ्नो भविष्य खोज्दै विदेशतिर धकेल्ने हो भने त्यस्तो युवा दिवसको अर्थ के ? एक दिन मञ्चमा युवाको प्रशंसा गर्ने अनि बाँकी दिन युवाका आवाज नसुन्ने हो भने युवा दिवसको औचित्य के ? एक दिन युवालाई देशका कर्णधार भन्ने अनि बाँकी दिन निर्णय प्रक्रियाबाट युवालाई टाढा राख्ने हो भने त्यसलाई युवा मैत्री शासन कसरी भन्ने ?
त्यसैले अब युवा दिवसको परिभाषा बदल्नुपर्छ । युवा दिवस एउटा दिनमा सीमित हुनु हुँदैन । युवाले रोजगारी पाएको दिन युवा दिवस हो । युवाले आफ्नो सीप प्रयोग गर्न पाएको दिन युवा दिवस हो ।

युवाले उद्यम गर्न पाएको दिन युवा दिवस हो । युवाले आफ्नो कुरा निर्धक्क राख्न पाएको दिन युवा दिवस हो । युवाले मानसिक रूपमा सुरक्षित महसुस गरेको दिन युवा दिवस हो । युवाले आफ्नो भविष्य नेपालमै देखेको दिन युवा दिवस हो । युवाको प्रतिभाले अवसर पाएको दिन युवा दिवस हो । अर्थात्, ३६५ दिन नै युवा दिवस बन्नुपर्छ ।

आज विश्व युवा दिवसका अवसरमा युवालाई शुभकामना दिऔँ । तर शुभकामनासँगै एउटा प्रतिबद्धता पनि गरौँ; युवालाई केवल शुभकामना होइन, अवसर दिनुपर्छ । युवाको जोश छ । जाँगर छ । सपना छ । सीप छ । प्रविधिको ज्ञान छ । केही गर्ने अदम्य साहस छ ।

अब चाहिएको छ; सबैको साथ,राज्यको, समाजको, परिवारको, नीति निर्माताको, निजी क्षेत्रको, र सबैभन्दा महत्वपूर्ण, युवामाथिको विश्वास । किनकि युवा केवल भविष्य होइनन् । युवा वर्तमान पनि हुन् । र आजको वर्तमानलाई अवसर दिन नसक्ने देशले भोलिको भविष्य कसरी बलियो बनाउला ?

त्यसैले आज युवा दिवस मनाउँदै गर्दा एउटा प्रश्न आफैँलाई सोधौँ;

हामीले युवालाई साँच्चिकै खुसी बनाउने काम गरिरहेका छौँ कि केवल उनीहरूलाई खुसी भएको अभिनय गर्न बाध्य पारिरहेका छौँ ?

उत्तर हामी सबैले खोज्नुपर्नेछ । युवा दिवसको शुभकामना । तर त्यो शुभकामना केवल आजका लागि होइन । युवाले ३६५ दिन नै युवा दिवसको अनुभूति गर्न सकून्, यही शुभकामना !