अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा शुक्रवार (असोज ९ गते) विद्यालय बन्द गरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष मौसम बुलेटिनअनुसार असोज ९, १० र ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेकाले अविरल वर्षाका कारण बाढी, डुबानलगायतका विपद् आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गोदावरीमा बिदा दिइएको हो ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट भएको पूर्वानुमान एवम् शिक्षा तथा खेलकुद मन्त्रालयबाट जारी गरिएको सार्वजनिक सूचना बमोजिम असोज ९ गते स्थानीय बिदाबाट मिलान हुने गरी विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा अभिभावकहरूलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ ।


















