खाेज्नुहाेस

टाढा तथा रातिको समयमा यात्रा नगर्न कैलाली प्रशासनले गरायो सचेत

Image

अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले उच्च सतर्कता अपनाउने सम्बन्धी सूचना जारी गरेको छ । विशेष मौसम बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार असोज ९ देखि ११ गते सम्म देशका विभिन्न स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी देखि अति भारी वर्षाको कारण बाढी, पहिरो तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको असोज ७ गतेको निर्णयअनुसार जारी उक्त सूचनामा असोज ९ देखि ११ गते सम्मको अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न सचेत गराइएको छ ।

attariya hospital

यस्तै सम्बन्धित स्थानीय तह, तीन वटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्स्काभेटर लोडर लगायतका साधन तयारी अवस्थामा राख्न पनि सूचनामा उल्लेख छ ।

navjiwan hospital

स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्व सूचना/चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुन भनिएको छ ।

वर्षा र बाढीबारे जानकारी लिन प्र.जी.अ. ९८५८४२७७७७, स.प्र.जी.अ. ९८५८४२६६६६. प्र.उ. ९८५८४२५५५५. स.प्र.उ. ९८५१२७२१२१ को नम्बरमा सम्पर्क तथा विपद्मा मदत माग्न १२३४ जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, कैलाली), नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीद्वारा जारी सूचनामा नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्व सूचना/चेतावनी/सम्बन्धी जानकारी लिइरहनु हुन अनुरोध गरिएको छ ।