कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को शाखा कार्यालय ६ वर्षदेखि सुरक्षा गार्डको भरमा चलिरहेको छ । स्थापनादेखि नै सुरक्षा गार्डले कार्यालय खोल्ने र रेखदेख गर्नेबाहेक कुनै गतिविधि सञ्चालन हुन सकेको छैन ।
२०७४ मा जडीबुटी अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा स्थापना भएको कार्यालयमा हालसम्म कोही कर्मचारी वा अनुसन्धानकर्ता आएका छैनन् । त्यतिबेलै राखिएका उपकरण तथा परीक्षणमा प्रयोग हुने सामग्री बिग्रिन थालेका छन् भने कतिपय काम नलाग्ने भइसकेका छन ।


कार्यालय स्थापनापछि घरभाडामै ठूलो रकम खर्च भइरहेको छ । यस क्षेत्रका जडीबुटीको अध्ययन गर्ने उद्देश्यले स्थापना भएको प्रान्तीय कार्यालय अहिले आफै बेवारिसे जस्तै बनेको छ । ‘कार्यालय स्थापना त भयो, तर त्यसपछि कुनै कर्मचारी आएनन्,’ कार्यालयका सुरक्षा गार्ड प्रेमसिंह ठगुन्नाले भने, ‘भित्र भएका उपकरण पनि जीर्ण भइसकेका छन ।’ प्रान्तीय कार्यालय व्यवस्थापन समितिको संयोजकमा विजय पन्त तथा सदस्यमा शारदा धामी र खेमराज जोशीलाई नियुक्त गरिएका छन । तर हालसम्म कोही पनि कार्यालयमा नआएको ठगुन्नाले बताए ।
सरकारले नास्टको उपकुलपतिमा प्रा.डा. दिलीप सुब्बालाई हालै नियुक्त गरेको छ । सुब्बा उपकुलपति भएपछि प्रान्तीय कार्यालय पनि सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अन्य पदाधिकारी नियुक्त हुन बाँकी छ । भाडामा रहेको कार्यालयलाई जिल्ला समन्वय समितिले कञ्चनपुर उद्योग वाणिज्य संघसँगै रहेको सरकारी घरसमेत उपलब्ध गराएको छ । तर उक्त घरमा सर्नका लागि केन्द्रबाट निर्देशन नआएको ठगुन्नाले बताए । उनका अनुसार जिल्ला समन्वय समितिले ०७९ मंसिरमा उक्त घर ०८२ सम्मका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
भीमदत्त नगर विकास समितिले पनि नास्टका लागि जग्गा दिने निर्णय गरेको छ । ०७८ पुसमा तत्कालीन नगर विकास समितिको बैठकले पशु सेवा विज्ञ केन्द्र नजिकैको नास्टलाई जग्गा दिने निर्णय ग-यो । पछिल्लो पटक सबै प्रदेशमा नास्टको प्रान्तीय कार्यालय हतारहतारमा खोलियो । तर ०७४ मै स्थापना भएर बेवारिसे रहेको कार्यालय सञ्चालनका विषयमा भने नास्टको ध्यान पुग्न सकेको छैन ।


















