अत्तरिया – करिब २ दशक देखि अत्तरिया क्षेत्रमा खानेपानी वितरण गर्दै आएको ‘अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’ लाई हाल खानेपानी वितरण गर्न हम्मे–हम्मे परिरहेको छ । सुरुमा २४ घण्टा खानेपानी वितरण गर्दै आएको उक्त संस्थाले हाल ४ हजार ७ सय उपभोक्ताका घरमा दैनिक तोकिएको समयमा पनि पानी पु-याउन सकिरहेको छैन ।
खानेपानीका पुर्वाधार र विस्तारमा करोडौं रकम खर्च हुँदै गइरहेको भएपनि पानीको संकट भने झन–झन बढ्दो छ । खानेपानी संस्थाले पानी वितरण गर्ने भूमिगत श्रोत नै घट्दै जान थालेपछि खानेपानीको संकट बढ्न थालेको हो ।

भूमिगत श्रोतबाट पानी निकाल्नको लागि खानेपानी संस्थाले हालसम्म आधा दर्जन बढी बोरीङ गाडिसकेको छ । ति मध्ये अधिकांसमा पानी आउँदैन । जसका कारण भूमिगत पानी भासिएर आयोजना नै संकटमा पर्ने खतरा बढेको छ । खानेपानी संस्थाका अध्यक्ष टिकादत्त जोशीले बिभिन्न कारणले गर्दा खानेपानीको भूमिगत श्रोत कम हुन थालेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । ‘अब खानेपानीको लागि बोरीङ गाडेर वितरण गर्न सम्भव छैन । जनवायु परिवर्तनको असर खानेपानीको मुलमा पनि परेको छ’ उनले भने ‘जसको बिकल्पमा अहिले हामीले मुल पानी प्रयोग गर्नका लागि ६० करोडको लागतको डिपिआर बनाएर संघिय सरकारमा पेश गरेका छौ । जसका लागि गोदावरीको बस्ती भन्दा माथि मुलबाट पानी ल्याउनको लागि अध्ययन गरिएको छ ।’
उनले भूकम्प र पराकम्पनका कारण पनि भूमिगत श्रोतमा असर परिरहेको बताए । ‘पहिला दशकमा १ पटक भुकम्प आउन्थ्यो । अहिले हप्तादिनमै भुकम्पको पराकम्पन आउन थालेपछि यसले पानीका लागि बोरीङ गरेको ठाउँमा धमीलो पानी आउने, मुल सुक्ने समस्या झन बढेको छ’ उनले भने ‘जसका कारण पानी वितरणमा समस्या भइरहेको छ ।’ उनले चुरेमा उत्खनन्, वन विनास लगायतका कारणले पनि पानीको भूमिगत जलश्रोत घट्दै गइरहेको बताए ।
हाल अत्तरियाको तेघरीमा रहेको खानेपानीको ६ लाख घन लिटर ट्याङ्किमा पानी जम्मा गर्नको लागि ३ वटा बोरीङ संचालनमा छन । ति बोरीङबाट प्रयाप्त पानी नआउँदा वितरण समस्या हुने गरेको छ ।

‘पानीको श्रोत कम हुँदा दिउँसो १ बजे देखि ५ बजे सम्म पानी वितरण बन्द गरिएको छ’ खानेपानी संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले भने ‘अहिले ३ वटा बोरिङ मार्फत पानी निकालेर वितरण हुँदै आएको छ । शुख्खा मौसम भएको कारणले गर्दा पानी कम आउने गरेकाले प्रयाप्त पानी पुगाउन समस्या भएको छ । शुख्खा मौसममा धमिलो पानी आउँदा पनि त्यसलाई फाल्नुपर्ने भएकाले पानी वितरणमा रोकावट आउने गरेको छ ।’ अहिले २ बोरीङ महरा कटान र एक बोरीङ खानेपानी ट्याङ्कि रहेको कम्पाउण्ड भित्रै जडान गरिएको छ ।
कार्यालयका प्रमुख पनेरुले पछिल्लो ३/४ दिन यता केहि प्राविधिक समस्याका कारण बिहानको समयमा पनि पानी बन्द भएको बताए ।
‘शनिबार मुख्य भल्बमा समस्या आएका कारण बिहान पानी वितरणमा समस्या भएको हो । पछि साँझ पनि समस्या दोहरीएपछि राती मर्मत गरेर बिहान पानी संचालन भइसकेको छ’ उनले भने ‘यसअघि धनगढी रोडमा जेसिवीले पाइप काट्दा पानी वितरणमा समस्या भएको थियो । पछिल्लो ३÷४ दिन यता यी दुई समस्याका कारण पानी वितरणमा डिस्टर्व भएको हो ।’
हाल खानेपानीको समस्या सामाधानका लागि वनदेवीमा भूमिगत जलश्रोतकै भरमा थप साढे ४ लाख घन लिटर क्षमताको ओभरहेट ट्याङ्कि र पाइप लाइन विस्तारको काम जारी रहेको छ । नयाँ योजना अन्तरगत वनदेवि मन्दिरमा पनि खानेपानी ट्याङ्कि संगै २ वटा बोरीङ गाडिएको भएपनि उक्त योजना सूचारु हुन सकेको छैन ।
खानेपानीको पाइप बिस्तार गर्न नेपाली सेनाले केही समय रोकेका कारण विस्तारमा ढिलाई भएको कार्यालय प्रमुख पनेरुले बताए । माथिको पानी सूचारु भएमा समस्या सामाधान हुने उनले बताए । वनदेविमा १३ करोड १९ लाख ८८ हजार हजारमा टेण्डर गरेर २०७८ सालदेखि काम सुरु गरिएको थियो । उक्त आयोजनाको स्थान परिवर्तन हुँदा डेढ करोड लागत थपिएको छ ।
२०५८ सालमा स्थापना भएको खानेपानी संस्थाको तेघरीमा संचालनमा रहेको ओभरहेड ट्याङ्कि लगायतका संरचना निर्माण गर्न करिब ४ करोड खर्च गरिएको थियो भने पछि बोरीङ, पाइप लगायतका संरचना थप गर्न ६ करोड खर्च भइसकेको छ । अत्तरिया क्षेत्रमा खानेपानी वितरणका लागि करोडौ रकम खर्च गरिदा पनि पानीको श्रोतको भरपर्दो व्यवस्था नहुँदा यस क्षेत्रमा पानीको संकट भने कायमै रहेको छ ।


















