अत्तरिया – वर्षायाम सुरु भैसकेको छ । यसपटक पनि वर्षायाममा अत्तरिया क्षेत्र आसपास क्षेत्रमा डुबान हुने निश्चित बनेको छ । खोलानाला अतिक्रमण गरि बनाईएका संरचनाहरु हटाउने विषयमा नगरपालिकाको मौनता कायमै रहदा यसपटक पनि गोदावरी नगरक्षेत्रमा डुबानको जोखिम कायमै रहने भएको हो ।
विगतको तुलनामा पछिल्लो समय खोलानाला अतिक्रमण गर्ने परिपाटी मौलाएको छ । छिमेकी पालिका धनगढीले खोलानाला अतिक्रमण गरी बनाईएका संरचनाहरुमा धमाधम डोजर लगाएको भएपनि गोदावरी नगरपालिकाले भने हालसम्म सुचना प्रकाशित गर्ने काम मात्रै गरेको छ ।
नगरपालिकाले पहिलो पटक गत असोज १२ गते पहिलो पटक खोलानाला अतिक्रमण गरी बनाईएका संरचना हटाउन ९० दिने सुचना प्रकाशित गरेको थियो । तर उक्त अवधी मा कुनै पनि स्थानका अतिक्रमीत संरचनाहरु नहाईदा नगरपालिकाले पुनः पुष १३ गते सुचना प्रकाशित गर्दै पुष ३० गतेसम्मका लागी अतिक्रमीत क्षेत्रमा बनेका संरचनाहरु हटाउन म्याद थप गरेको थियो । तर उक्त सुचनाको पनि स्थानियहरुले वेवास्ता गर्दै हालसम्म खोलानाला अतिक्रमण गरी बनाईएका संरचनाहरु हटाएका छैनन ।


नगरपालिकाले दुई दुई पटक सुचना प्रकाशित गरेपनि आफैले डोजर चलाउन भने सकेको छैन । दुई पटक निकालिएको सुचनाको वेवास्ता गर्ने स्थानियहरुलाई कारबाही गर्ने या अतिक्रमीत संरचनामा आफैले डोजर चलाउने भन्ने विषयमा हालसम्म नगरपालिकाले निर्णय लिन सकेको देखिएको छैन ।

पछिल्लो समय अत्तरिया बजार क्षेत्रमा रहेका खोलानाला अतिक्रमण हुँदै जाँदा बर्षातको समयमा बजार क्षेत्रमा डुवान हुन थालेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजार क्षेत्रका खोला किनारामा अहिले ठूला– ठूला घर ठडिएका छन् । खोलाबाटै पिल्लर ठड्याएर घर निर्माण गरिएका छन् । त्यस्ता अतिक्रमीत संरचनाहरुका कारण डुवानको समस्या बढ्न थालेपछि नगरपालिकाले खोला अतिक्रमण गरी बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो । तर नगरले निकालेको उक्त सुचना कागजमा मात्रै सिमित बन्न पुगेको छ ।
नगरपालिकाले दोस्रो पटक प्रकाशित गरेको सुचनामा खोलानाला अतिक्रमण गरि बनाईएका संरचनाहरु स्वस्फुर्त रुपमा नहटाए नगरपालिकाले नियमानुसार हटाउने बताएको छ । तर उक्त सुचना निकालिएको ३ महिना कटिसक्दा समेत नगरपालिकाले एक्शन लिन सकेको छैन । अत्तरियामा सबैभन्दा बढी अत्तरियाको वरपिपल गल्लीमा खोला अतिक्रमण गरेर घर निर्माण गरिएका छन । नगरपालिकाले सो गल्लीबाटै खोला अतिक्रमण गरी बनाएका घर हटाउने काम सुरु गर्ने जनाएको छ ।
यसअघि नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन जारी गरिएको सूचनाको वेवस्ता गरिएपछि डोजर प्रयोग गरेर संरचना हटाएको थियो । नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउन पनि २ पटक सूचना जारी गरेको थियो ।

यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले आफैले अतिक्रमीत संरचना हटाउने गरी नगरपालिकाले तयारी थालेको बताए । उनले आवश्यक बजेट विनियोजनमा केही ढिलाई हुँदा काम सुरु हुन नसकेको जानकारी दिए । ‘खोलानालाका अतिक्रमण हटाउन केही बजेट आवश्यक पर्छ, नगरपालिकाको जेसिबिले मात्रै भ्याउदैन’ उनले भने ‘स्रोत साधन जुटाउन र बजेट व्यवस्थापनका लागी केही समय लागेको छ, त्यसको व्यवस्थापन हुने वित्तिकै काम सुरु हुन्छ ।’
उनका अनुसार नगरपालिकाले प्राविधिक खटाएर खोलानालाको क्षेत्र नाप्ने काम भने सकिसकेको छ । वर्षायाम सुरु भएसँगै अत्तरिया बजारक्षेत्र र आसपासका क्षेत्रमा हुने डुबानको समस्या विकराल बन्ने देखिएको छ । त्यसैले खोलानालाको अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनमा बिलम्व गरिनु हुदैन ।
















