खाेज्नुहाेस

अत्तरियामा पानी पिच गरेको सडक २४ घण्टा नपुग्दै भत्काइयो, बजेटको सत्यानास

Image

अत्तरिया – अत्तरिया बजार क्षेत्रको घना बस्तीमै भएर पनि सृजना नगरका सडकको अवस्था बेहाल छ । साघुरा सडकमा न ढलको निकास छ, न कालोपत्रे नै हुन सकेका छन् । व्यवसायी र आवासिय घर रहेको सृजना नगरमा बल्लतल्ल पानी पिचको योजना आयो । जसका लागि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले उपभोत्ता समिति मार्फत संगै जोडिएको समता गल्ली र सृजना गल्लीका सडकमा पानी पिच गरीएपनि उक्त काम हाल विवादित बनेको छ ।

नगरको मापदण्ड नै नपुगेका ति सडकमा गरिएको पानी पिच व्यक्तिगत जग्गामा परेको भन्दै भत्काइएको छ । जसले बजेटको दुरुपयोग मात्रै भएको छैन, विवाद नै सृजना भएको छ ।

attariya hospital

शुक्रबार सृजना नगरका गल्लीमा रोलर लगाएर पानी पिच गरिएको थियो । पानी पिच गरिएको २४ घण्टा नपुग्दै गणेश साउँद सहित ३ जनाले उक्त सडक आफ्नो जग्गामा परेको भन्दै करिव ५० मिटर भत्काइदिएका छन ।

पानी पिच भत्काइएपछि घटना चर्चामा आएपनि उक्त ठाउँमा विवाद भने १ बर्ष अगाडी निर्माण गरिएको ढलबाटै सुरु भएको जग्गाधनी साउँदले बताएका छन । उनले ढल निकासीको नाला निर्माण गर्दा नै आफ्नो जग्गामा बनाइएकोले त्यसलाई नसार्दै झन आफ्नो जग्गा पेलेर सडक निर्माण गरिएपछि भत्काएको बताए । उनले यसबारेमा १ बर्ष अगाडी नै नगरपालिकालाई जानकारी दिएको भएपनि त्यसको वेवास्ता गरिएको बताए ।

navjiwan hospital

सहरी विकास आयोजना कार्यालयले नै १ बर्ष अगाडी नमस्ते गल्लीमा नाला सहित कालोपत्रे गरेको सडकको ढल सो क्षेत्र हुँदै खोलामा फालेको थियो । तर, ढलको पानी खोलामा फाल्दा व्यक्तिगत जग्गा परेपछि सहमतिमा ढल निकास नाला बनाउने सहमति भएको थियो ।

तर, ढल निर्माण गर्दा सहमति विपरित आफ्नो जग्गामा मात्रै पेलेर निर्माण गरिएको र, हाल सोही माथि पानी पिच गर्दा पनि आफै जग्गा झन मास्ने काम भएकाले सडक सहित नाला भत्काएको साउँदले बताएका छन । उनले नगरपालिकाले पनि नाला गलत ठाउँमा निर्माण भएको भन्दै सहरी विकास कार्यालयलाई १ बर्ष अगाडी नै पत्र लेखेको भएपनि सुनूवाई नभएको बताए ।

हाल नाला समेत भत्काइएपछि ढल निकास समेत थुनिएको स्थानीयले बताएका छन । स्थानीयले पिच भएको सडक भत्काउन नहुँदे भन्दै विरोध जनाएका छन् । उनीहरुले समयमै विवाद सुल्भाउनुको साटो पानी पिच गरेर सडक भत्काइदा बजेटको सत्यानास भएको बताएका छन ।
सृजना नगर समितिकी अध्यक्ष सोना रोकायाले विवाद लामो सयम देखि भएपनि समयमै उचित निर्णय लिन नसक्दा अहिलेको अवस्था आएको बताइन् । उनले सो क्षेत्रमा भएको विवादका विषमा आफूले पनि १ बर्ष अगाडी समितिबाट नगरलाई जानकारी गराएको भएपनि कुनै सुनुवाई नभएको बताइन् । ‘हामीले गाउँमा भएका समस्या सामाधानका लागि जनप्रतिनिधि चुनेर पठाएका छौ । तर, उनीहरुले यस्ता समस्याका बारेमा समयमै निर्णय नलिदा विवाद बल्भिएको छ’ उनले भनीन् ‘जनप्रतिनिधि गैर जिम्मेवार बन्दा समस्या भयो ।’

निर्माण उपभोक्ता समितिकी अध्यक्ष धाना चोखालले सहरी विकास कार्यालयबाट १० लाख विनियोजन भएअनुसार आफूले सो क्षेत्रमा कालोपत्रे गरेको बताइन् । उनले विवादित भनिएको जग्गामा होमपाइप माथि पहिले नै ग्रावेल हालिएकोले त्यसैमाथि पानी पिच गरिएको बताइन् । उनले पहिलै देखि सो क्षेत्रमा विवाद भएको बारेमा जानकारी नभएको बताइन् ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले भने आफूले सो विषयमा बुझ्न नपाएको बताए । उनले विवादित क्षेत्रमा आफु पुगेपनि त्यहाँको खास समस्याका बारेमा बुझ्न बाँकी रहेको बताए ।

उक्त क्षेत्रमा सडकको ढल निकासमा समस्या भइरहदा खोला पनि अतिक्रमण गरेको स्थानीयले दावी गरेका छन । खोला अतिक्रमण हुँदा अहिले सडकहरुको ढल निकासमा समस्या भएको उनीहरुको भनाइ छ ।