खाेज्नुहाेस

अत्तरियामा अतिक्रमण गर्नेको मनोबल बढ्दै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिको मंसिर १८ गते अत्तरिया बजारमा डोजर चलाएको थियो । नगरपालिकाले दिएको समय सीमाको वेवास्ता गरिएको भन्दै नगरपालिकाले डोजर चलाएर सडक अतिक्रमण गरेका संरचना र टिनका पाली हटाएको थियो । जुन कार्यको स्थानीयले स्वागत गरेका थिए भने अतिक्रम गरेकाहरुले पनि सहयोग गरेका थिए ।

तर, ४ महिना नबित्दै परीस्थिति बदलिएको छ । सडक किनारा पुनः अतिक्रम हुन थालेको छ । यसपटक पनि नगरपालिकाले अतिक्रमण हटाउन जेसीबी चलाए पनि व्यससायी त्यसको प्रतिकार गर्न उत्रिन थालेका छन ।

attariya hospital

शुक्रबार नगरपालिकाले अत्तरिया चोकमा पुनः सडक अतिक्रमण गरेर निर्माण गरिएका टिनका पाली हटाउन खोजेको थियो । तर, स्थानीयले विरोध जनाउँदै अतिक्रमण हटाउन दिएनन् । उल्टै नगरपालिका घेराउ गरेर उनीहरुले नगरले काखापाखा गरेको भन्दै विरोध जनाए ।

‘सानालाई ऐन, ठूलालाई चैन’ भनेजस्तै नगरपालिकाले व्यवहार गरेको उनीहरुको तर्क थियो । व्यवसायी दुर्गा कडायतले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको बताइन् ।

‘नगरपालिकाले बजारको अतिक्रमण संगै खोलानालाको अतिक्रमण पनि हटाउने भनेको थियो । सोही अनुसार हामीले पसल अगाडीका टिनका पाली हटायौ’ उनले भनीन् ‘तर नगरपालिको सूचना अनुसार बजारमा तोडफोड गरेपनि खोलानाला, ढलनालाको अतिक्रमण हटाएन् ।  त्ससैको विरोध स्वरुप हामीले पनि टिनका पाली लगाएका हौ ।’

उनले नाला बन्द भएकाले निकास नहुँदा पसलमा पानी भरिने भएकाले टिनको पाली लगाएको बताइन् । उनले खोलानाला, ढलको निकास नहटाउने तर, आफूहरुलाई मात्रै दुःख दिने काम भएको बताइन् । उनले भनीन् ‘खोलानाला, ढलनिकासको अतिक्रमण हट्छ भने हामी पाली आफै हटाउन्छौ ।’

व्यवसायीहरुले अतिक्रमण हटाउने भन्दै पटक–पटक आफूहरुको छाना मात्रै भत्काउने तर, अतिक्रमण गरेर बनेको ठूला संरचना नहटाइदाँ आफूहरु विरोधमा उत्रिएको बताएका छन् ।

‘नगरपालिकाले हामीले निर्माण गरेका छाना पटक–पटक हटाउँदा अन्य ठाउँमा अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाइएनन्’ व्यवसायी जानकी बोहराले भनीन् ‘त्यसैले हामी व्यवसायीले पनि हटाइएका छाना पुनः निर्माण गरेर व्यवसाय गर्न सहज मात्रै गरेका हौ । नगरपालिकाले अन्य ठाउँका अतिक्रमित संरचना हटाए हामी आफै सडक क्षेत्रमा पर्ने छाना हटाउने छौ ।’

navjiwan hospital

व्यवसायीहरुले तत्काल अन्य अतिक्रमण गरेर निर्माण गरेका संरचना नहटाएसम्म आफूहले निर्माण गरेका पसल अगाडीका छाना पनि हटाउन नदिने बताएका छन् ।

नगरपालिकाले बजार क्षेत्रका सडकमा भएको अतिक्रमण संगै खोलानालाको अतिक्रमण हटाउने भनेर ९० दिने सूचना निकालेको थियो । जसका लागि नगरपालिकाले असोज १२ गते ९० दिने सूचना निकालेर खोलानाला अतिक्रमण हटाउन समयसीमा तोकेको थियो ।

सो समयमा पनि कसैले खोलानालाको अतिक्रमण नहटाएपछि पुस मसान्त सम्म म्याद थप गरिएको थियो । उक्त समयसीमामा पनि खोलानाला अतिक्रमण गरेकाहरुले बेवास्त गरेपनि नगरपालिकाले भने अहिले सम्म कुनै एक्सन लिन सकेको छैन । जवकी सूचनामा समयसीमा भित्र खोलानालाको अतिक्रमण नहटाए नगरपालिकाले भत्काउने उल्लेख थियो ।

खोलानालाको अतिक्रमण हटाउने निर्णय कार्यान्वय नहुँदा अहिले सडक अतिक्रमण गरेका व्यवसायीहरुको पनि मनोबल बढेको छ । जसका कारण उनीहरुले आफूहरुका मात्रै संरचना भत्काउन नदिने सर्त राख्न थालेका छन ।

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएकाले उक्त काम नरोकिने बताएका छन ।

उनले ७ दिने सूचनाको बेवस्था गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेपछि आफूहरुले उक्त कदम चालेको प्रवक्ता भट्टको भनाइ छ ।

तर, उनले खोलानाका अतिक्रमण कहिले हटाउने बारेमा भने आफूसंग ठोस जवाफ नभएको बताए । ‘खोलानालाको अतिक्रमण हटाउनको लागि श्रोत साधनको पनि आवश्यकता पर्छ । खोलामा बनेका पक्की संरचना भत्काउन धेरै समय र खर्च लाग्छ । जसको तयारी गर्न समय लागेको हो’ उनले भने ‘अहिले नै म ठ्याक्कै समय भन्न सक्दैन् । खोलानाला च्याप्ने पक्षमा हामी छैनौ । त्यो हामी एक दिन हटाउँन्छौ ।’

उनले जग्गा नापीको कम गर्दा पनि खोलानालाको क्षेत्र छोडेर नाप्ने काम भइरहेको बताए । उनले अर्काको चिजलाई देखाएर आफूले पनि अतिक्रमण गर्न पाउनु पर्छ भन्ने कुरा गलत भएको बताए ।