अत्तरिया – अपाङ्गता भएकाहरुको जिवन सहजता संगै सम्मान स्वरुप सरकारले सामाजिक सुरक्षा भत्ता दिदैं आएको छ । तर, त्यहि भत्ताको रकम बुझ्न जाँदा भने अपाङ्गता भएकाहरुले अपमानित हुनुपर्ने अवस्था छ ।
कैलालीको गोदावरी नगरपालिकाले अपाङ्गता भएका अशक्त, असहाय, एकल महिला र वृद्धवृद्धालाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिर्दै आएको छ । तर, उक्त भत्ता लिन लक्षित वर्गलाई भने त्यति सहज छैन् ।

अत्तरियामा बैंक मार्फत दिइने सामाजिक सुरुक्षा भत्ता वितरण गर्ने अधिकांस बैकहरु अपाङ्ग मैत्री नहुँदा खातामा जम्मा भएको रकम झिक्नको लागि उनीहरुले निकै सघर्ष गर्नुपर्ने अवस्था छ ।
गोदावरी नगरपालिका – २ का ह्युलचियर प्रयोगकर्ता लक्ष्मण विकले अत्तरिया क्षेत्रका बैंक अपाङ्ग मैत्री नहुँदा सामाजिक सुरक्षा भत्ता लिन निकै समस्या हुने गरेको बताए ।
‘भक्ता लिन माथिल्लो तलामा जानुपर्छ । त्यहाँ जादा अपहेलित हुनुपर्ने अवस्था छ । बैंकका कर्मचारीहरले वास्ता नै गर्दैनन्’ उनले भने ‘यस्ता व्यक्तिहरुको पहुचमा बैंक नहुँदा केही व्यक्ति भत्ता लिन पनि जादैनन् ।’ उनले भत्ता लिनका लागि भुइतलमा भिकारीको जस्तै घण्टै कुर्नुपर्ने बाध्यता रहेको बताए ।

‘ह्युलचियरमा दोस्रो तलामा जान सकिदैन् । हामीले गार्डलाई खबर पठाएपछि निकै समय कुराएर भुइतलामा सेवा दिनुहुन्छ’ उनले भने ‘माथिल्लो तलामा जान नसक्नेले अपहेलित भएर तल बस्नुपर्ने । भिकारीको जस्तै मागेर भत्ता लिनुपर्ने अवस्था छ ।’
उनले यसको समाधानका लागि बैंकहरुले भुइतलामा हेल्प डेस्क राखेर सेवा दिनुपर्ने बताए । ‘यसको सामाधानका लागि अपाङ्ग मैत्री नभएका बैंकहरुले भूइतलमा हेल्प डेस्कको स्थापना गर्न आवश्यक छ’ उनले भने ‘यो तत्कालिन सामाधान भएपनि दिर्घकालिन समस्या समाधानका लागि भने बैंकहरु अपाङ्ग मैत्री नै हुनुपर्छ ।’ नगरपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै सेवा दिए सहज हुने उनले तर्क छ ।
अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्दै आएका डबल साउँदले राज्यले भत्ता वितरण गर्दा अपाङ्गता भएकाहरुलाई सेवा दिन नसक्ने बैंकलाई नै वितरण गर्न लगाउनु गलत भएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरले सपाङ्ग सहर काम गर्न सक्दैनन् भन्ने बुझेर पनि राज्यले वेवात्ता गरिरहेको बताए ।
उनले अपाङ्ग मैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुले निकै सास्ती खेप्नुपरीरहेको बताए । ‘अहिले पनि भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनेका छैनन् । जसले गर्दा अपाङ्गता भएकाहरुले निकै पीडा पाएका छन’ उनले भने ‘सरकारी तथा गौरसरकारी संघ, सस्था अपाङ्ग मैत्री बन्नुपर्छ ।’
गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले बैंकमा आउन नसक्नेलाई घरमै सेवा दिने नीति अघि सारेको बताइन् । उनले बैंकमा आउन नसक्नेलाई घरमै सेवा दिन भनेको बताइन् ।
‘म अहिले जिल्ला बाहिर छु । हामीले बैंकमा आउन नसक्नेलाई घरमै सेवा दिन बैंकहरुलाई भनेका थियौ’ उनले भनीन् ‘अब म कार्यालयमा आएपछि बैंकहरुले यसको कार्यान्वय गरे नगरेको अनुगमन गर्ने छौ ।’ उनले अपाङ्ग मैत्री संरचना निर्माणका लागि आफूहरु कटिवद्ध रहेको बताइन् ।

















