अत्तरिया – उमेरले त्यही करिब ७/८ पुगेका साना बालबालिकाहरुले कार्यक्रम सञ्चालन गरेको देख्न त के सुन्नमा पनि अचम्म लाग्ने गर्दछ । तर, कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको किड्स जोनमा भने त्यो दृष्य देखियो । सोमबार आयोजना गरिएको विद्यालयको ७ औं वार्षिकोत्सवमा सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र कनिस पाठक र कक्षा ५ मा अध्ययनरत छात्रा सम्भवी भट्टले कार्यक्रम चलाईरहेका थिए ।
विद्यालयको सबैभन्दा महत्वपुर्ण कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी बालबालिकालाई दिईनु आफैमा हास्यास्पद हुन सक्छ । किनकी कुनै पनि विद्यालयले आफ्नो महत्वपुर्ण कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालयप्रति नराम्रो नसोचुन भन्ने चाहन्छन । त्यसैले प्रायजसो कुनै शिक्षक वा नभएर बाहिरबाट उद्घोषक बोलाएर भएपनि विद्यालयहरुले आफ्नो वार्षिक उत्सवको कार्यक्रम सञ्चालन गर्ने गर्दछन् । तर, किड्स जोनका सञ्चालक मदन जोशीले भने बालबालिकाहरुलाई नै उक्त महत्वपुर्ण कार्यको जिम्मेवारी दिएका थिए ।

सञ्चालक जोशीले बालबालिकामा बाहिरी ज्ञान सिपको पनि विकास गराउन उक्त जिम्मेवारी दिईएको बताए । ‘अहिलेको समय किताबी ज्ञान दिएर मात्रै सबैकुरा गर्न सकिन्छ भन्ने खालको छैन, यो समयमा सबै किसिमका सिपहरु विद्यार्थीलाई दिनुपर्ने हुन्छ’ उनले भने ‘त्यहि भएर मैले उक्त जिम्मेवारी बालबालिकाहरुलाई नै दिएको हुँ, केही त्रुटी भएपनि बालबालिकाले सिक्ने अवसर पाउँछन, अभिभावकमा पनि आफ्नो बालबालिकाको प्रतिभा देख्ने अवसर मिल्छ ।’

प्याब्सनका गोदावरी नगर कमिटि सचिव समेत रहेका जोशीले केहि दिन पहिले प्याब्सनले आयोजना गरेको प्याब्सन फेस्टिबलमा कार्यक्रम सञ्चालन गरेका थिए । सो समयमा आफुलाई कार्यक्रम सञ्चालन गर्न समस्या भैरहेको बताउदै उनले बालबालिकाहरुले भने कुनै हिचकिचाहट बिना नै गुणस्तरिय रुपमा कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरे । ‘स्टेजमा गएर कार्यक्रम सञ्चालन गर्नु सानो कुरा हैन, ठुला मानिसहरुमा समेत त्यो हिम्मत आउँदैन’ उनले भने ‘तर बालबालिकाहरुले भने कुनै पनि अफ्ठ्यारो वा डर नमानि एकदमै राम्रो तरिकाले कार्यक्रम सञ्चालन गरे ।’ उनले बालबालिकाहरुको कार्यक्रम सञ्चालन गर्ने शैली र उनिहरुको आँट देखेर अतिथि र अभिभावकहरु समेत आश्चर्यचकित भएका बताए । उनले कोरोनाकाल पछि पहिलो पटक वार्षिक उत्सव मनाईएको बताए ।
कक्षा ७ सम्म अध्यापन गराईने उक्त विद्यालयमा ठूला विद्यार्थीहरु छैनन् । तर ति साना साना विद्यार्थीहरुले नै वार्षिक उत्सवमा सहभागी अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन दिईरहेका थिए । कार्यक्रम सञ्चालन गर्ने मात्रै नभई नृत्य गर्ने र नाटक खेल्ने पनि बालबालकाहरु नै थिए । कक्षा २ देखी कक्षा ५ सम्मका बालबालिकहरुले वर्तमान समयमा देखिएको प्रविधिको विकृतिका विषयमा नाटक प्रर्दशन गरेका थिए । ति बालबालिकाहरुलाई प्रविधिको दुरुपयोग सम्बन्धी जानकारी दिने उद्देश्यले पनि नाटकमा सहभागीता गराईएको विद्यालयका सञ्चालक जोशीले बताए ।
‘पछिल्लो समय टिकटकमा तथा सामाजिक सञ्जालमा भाईरल हुनका लागी जस्तो सुकै काम कुरा गर्न समेत पछि नपर्ने प्रवृत्ति मौलाएको छ, जसले गर्दा विकृतिहरु बढ्दै जान थालेका छन’ उनले भने ‘त्यसैबारे बालबालिकालाई जानकारी दिन र अभिभावहरुलाई बालबालिकाप्रति सचेत बन्न हामीले नाटक प्रर्दशनी राखेका थियौ ।’
नाटक खेल्ने कलाकार बालबालिकाहरुको नाटक शैली देखेर सहभागीहरु एकदमै उत्साहित देखिएका र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । उनले बालबालिकाहरुको प्रतिभा प्रस्फोटन गराउन र उनिहरुमा विभिन्न ज्ञानसिपहरुको विकास गर्न विद्यालयले यस्ता कार्यहरु गर्दै जाने बताए ।

















