खाेज्नुहाेस

छाडा पशु चौपायाबाट टीकापुुरका किसानलाई बाली जोगाउनै मुस्किल

Image

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन् । छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन थालेका हुन् । नागरिक छाडा पशु चौपायाका कारण बाली जोगाउन नसक्दा दिक्क छन् ।

छाडा पशु चौपायाले किसानको बालीनाली नष्ट गरिदिने भएकाले किसानलाई खेती स्याहार्न कठिन हुन थालेको छ । यो समस्या नेपाल–भारत सीमा क्षेत्रका किसानलाई अझ बढी छ । सीमा क्षेत्रमा नेपाल र भारत गरी दुवै क्षेत्रका पशुले बाली नोक्सान गर्न थालेपछि टीकापुर–७ का किसानले तारबार लगाउन थालेको बताएका छन् ।

attariya hospital

छाडा पशुले बाली नोक्सान गरेर समस्या भएपछि स्थानीय मिलेर बाली जोगाउन सामूहिकरूपमा काडेतार लगाउन थालेको स्थानीय भिउराज साउदले बताए । ‘हामीले खेती नगरे छाक टार्न गाह्रो, खेती गरेमा नेपालका र भारतबाट आएका वस्तुभाउले खेती नष्ट गरिदिन थाले’ उनले भने ‘तारबार नगरेर खेती जोगाउन नसकिने भयो, अर्कोतर्फ तारबार गर्दा जमिन समेत संरक्षण हुने भयो ।’

लगाएको बाली भारतीय जङ्गलबाट आउने छाडा गाइगोरु तथा जङ्गली जनावरले खाएर नोक्सान गर्न थालेपछि काडेतार लगाउनुपरेको स्थानीयवासी बताएका छन् । ‘हामीले आफैँले रकम उठाइ श्रमदानबाट सीमा क्षेत्रमा करिब पाँच सय मिटर जमिनमा काडेतार लगाउन थालेका छौँ’ उनले भने ‘प्रत्येक किसानबाट रु पाँच सयका दरले रु एक लाख ५० हजार सङ्कलन गरी काडेतार लगाउन थालेका छौँ ।’

navjiwan hospital

स्थानीयवासीले काडेतार लगाउनुअघि स्थानीय सरकारसँग छलफल गरेका थिए । सरकारले सहयोग गर्ने आश्वासन पाएपछि तारबार गर्न सुरु गरेको बताएका छन् । स्थानीयवासीसँग उठाएको रकमले काम अधुरो हुने भएकाले नगरपालिकासँग सहयोग मागेको हिरासिंह साउदको भनाइ छ । ‘हामीले सकेको रकम उठायौँ, बाँकी रकम टीकापुर नगरपालिकाले व्यहोर्ने आश्वासन पाएका छौँ’, उनले भने ‘हामीले जमिन संरक्षण सुरु ग¥यौँ, अब पालिकालाई पनि दबाब होस् र बाली र भूमि संरक्षणमा सहयोग पुग्ने अपेक्षा छ ।’

सीमा क्षेत्रमा रहेको जमिन आधा जमिन नेपाली किसानले खेती गर्ने गरेका छन् भने आधा जमिन भारतीयले लिजमा लिएका छन् । कतिपय किसानको जमिन भारतीयले खेती गर्ने तर उत्पादन नदिने खालका समस्या भएकाले तारबार आवश्यक भएको मदन साउदले बताए । ‘यहाँ खेती गर्न नसक्ने किसानले भारतीय नागरिकलाई लिजमा दिएका छन’, उनले भने ‘वर्षौँसम्म लिजमा खेती गरेका भारतीयले विस्तारै आम्दानी नपाएका नेपाली जग्गाधनी पनि छन् ।’

सीमा क्षेत्रमा रहेका जमिनमा नेपाली गाईवस्तु र भारतीय मुलुकका गाईवस्तुसमेत सीमामा ल्याएर छाडिदिने गरेका छन् । गाईवस्तुले खेती जोगाउन समस्या भएपछि स्थानीयवासीले वडा कार्यालयसँगको समन्वयमा रकम सङ्कलन गरी तारबार लगाउन थालेका वडाध्यक्ष यज्ञराज न्यौपाने बताए । ‘यहाँ निकै समस्या छ । पाँच सय बिघा बढी जमिनमा तारबार लगाउनुपर्ने देखिन्छ । अन्य क्षेत्रमा तटबन्ध गरिएकाले त्यहाँ सुरक्षित छ’ उनले भने ‘खेती जोगाउन तारबार आवश्यक भएकाले हामीले सक्दो सहयोग रहन्छ भनेका छौँ । यो कार्यले बाली जोगिने र भूमिसमेत संरक्षण हुन्छ ।’

वडाध्यक्ष न्यौपाने यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल भएकाले स्थानीयवासीले तारबार लगाउन थालेको बताए । ‘सीमामा बस्ने नागरिकका थुप्रै समस्या छन्, एकातिर बाढीको जोखिम, अर्कातिर छाडा पशुले बाली नोक्सान गर्ने’, उनले भने ‘तारबारले नेपाली भू–भागको समेत संरक्षण हुनेछ ।’

रासस