खाेज्नुहाेस

अत्तरिया चोकमा फोटो खिच्नेको भिड

Image

अत्तरिया – कैलालीको अत्तरिया चोकमा फोटो खिच्नेको भिड लाग्न थालेको छ । चोकमा केही दिन अगाडी वाटर फाउन्टिङ जडान गरिएसँगै फोटो खिच्ने तथा टिकटक बनाउने मानिसहरुको भिड लाग्न थालेको हो । गोदावरी नगरपालिकाले चोकको सौन्दर्यता बढाउनका लागी ३० लाख लगानी लगाएर डिस्प्ले बोर्ड, हाईमास्ट लाईट र वाटर फाउन्टिङ जडान गरेको छ । हाईमास्ट लाईटले गर्दा अध्यारोमा चोकको सौन्दर्यता झन बढ्ने गरेको फोटो खिच्न आएका गोदावरी नगरपालिका वडा नं. २ का तिर्थराज ओझाले बताए । उनले लाईटसँगै जडान गरिएको वाटर फाउन्टिङले सुनमा सुगन्धको काम गरेको बताए ।

‘वाटर फाउन्टिङ गोदावरी नगरपालिका क्षेत्रमा नयाँ हो, यहाँ कुनै पनि ठाउँमा यस्तो छैन’ उनले भने ‘त्यहि भएर पनि यहाँ फोटो खिच्ने, टिकटक बनाउने मानिसहरुको भिड लाग्ने गर्छ, म पनि फोटो खिच्न नै आएको हुँ ।’ उनले चोकमा वाटर फाउन्टिङ जडान गरिनु एकदमै उपयुक्त भएको बताए । ‘वाटर फाउन्टिङले चोकलाई अझ रमणिय बनाएको छ, त्यसैका कारण पछिल्लो समय चोकमा मानिसहरुको भिड लाग्ने गरेको छ’ उनले भने ‘यो योजना ल्याउनुभएकोमा म नगरप्रमुखलाई धन्यावाद दिन चाहन्छु ।’ उनले चोककै कारण पनि अत्तरियामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

attariya hospital

यसैगरी नगरपालिकाकै वडा नं. ९ का स्थानीय केशव रानाले चोकमा नयाँ लागेकाले हेर्न आएको बताए । ‘यहाँ यो कुरा नयाँ देखेर हेर्न आएको हो, सोही सिलसिलामा फोटो पनि खिचे’ उनले भने ‘यसले चोकलाई राम्रो देखाएको छ ।’ वाटर फाउन्टिङका कारण चोकको सुन्दरतामा निखार आएको बताउँदै उनले नगरपालिकाले गरेको कार्य एकदमै राम्रो भएको बताए ।

navjiwan hospital

तराईक्षेत्रबाट पहाडी क्षेत्रमा जाने यात्रुहरुले पनि चोकको सुन्दरता मोबाईलमा कैद गरेर लैजाने गरेका छन । नगरक्षेत्रमै पहिलो पटक देखिएको वाटर फाउन्टिङकै कारण बस रोकाएर फोटो खिच्न आएका एक जना यात्रुले नयाँ र राम्रो लागेर फोटो खिच्न आएको बताए । हतार हतारमा फोटो खिचेर दौडिएका उनले बाजुरा गैरहेकाले एक छिनका लागी मात्रै आएको बताएका थिए । हतारमा हुँदा उनले नाम भने भन्न भ्याएनन् ।

यता नगरप्रमुख विरेन्द्र भट्टले भने वाटर फाउन्टिङको काम अझै अधुरो रहेको बताएका छन । ‘यो परिक्षणका लागी मात्रै हो, यसमा केही कुरा अझै मिलाउन बाँकी छ’ उनले भने ‘सबै कुरा पुर्ण रुपमा बनीसकेपछि अझै सुन्दर देखिनेछ ।’ उनले राम्रो सँग पुरा हुन नपाउदै फोटो खिच्ने तथा टिकटक बनाउने मानिसहरुको भने चोकमा भिड लाग्न थालेको बताए । उनले निश्चित अवधीका लागी वाटर फाउन्टिङ खोलिने गरिएको बताए । आफु निर्वाचीत भएर आएदेखि नै चोकको सुन्दरताका लागी आफुले विभिन्न योजनाहरु ल्याएको उनले बताए । उनले डिस्प्ले बोर्ड, हाईमास्ट लाईट र वाटर फाउन्टिङका साथै चोकलाई अझ व्यवस्थीत बनाउने योजना ल्याईरहेको बताए ।

‘प्रदेशका मात्रै नभई देश तथा विदेशका मानिसहरुको पहिलो नजर पर्ने क्षेत्र यही चोक हो, यो चोकले गर्दा नै नगरपालिकाप्रतिको मानिसको धारण बुझिन्छ’ उनले भने ‘त्यसैले पनि यसलाई व्यवस्थीत र सुन्दर बनाउने मेरो योजना छ, त्यो योजना अनुसार का केही कामहरु भएका छन, अझ केही हुन बाँकी छन ।’ उनले चोक कुरुप देखिएकै कारण त्यहाँ जडान गरिएको बिलबोर्ड हटाईएको बताए ।

‘बिलबोर्ड निश्चित अवधी सम्मका लागी राजश्व लिने गरी पहिलेका जनप्रतिनिधिहरुले जडान गर्नुभएको थियो’ उनले भने ‘तर त्यसबाट न त राजश्व नै नगरपालिकाले प्राप्त ग-यो, न त चोक नै व्यवस्थीत बन्यो ।’ उनले नगरबासीहरुको चाहना पनि भएकाले बिलबोर्ड हटाईएको बताए । बिलबोर्ड हटाईदा अहिले भने अत्तरिया चोक खुल्ला र सुन्दर देखिने गरेको छ ।