अत्तरिया – कैलालीमा मात्रै नभई सुदूरपश्चिम प्रदेशमै २०६७ अघिसम्म अपांगता भएका बालबालिकाहरुले राम्रो सँग पढ्न पाएका थिएनन् । भएका विद्यालयहरुमा अपांगतामैत्री संरचनाहरु नहुँदा अपांगता भएका बालबालिकाहरुले आवश्यकता अनुसारको शिक्षाबाट बञ्चित हुनुपरेको थियो ।
अपांगता भएका बालबालिकाहरुको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलो पटक सुप समावेशी आधारभुत विद्यालयको स्थापना भयो । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा स्थापित उक्त विद्यालयले अपांगता भएका बालबालीकाहरुलाई आवास सहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपांगता भएका बालबालिकाहरुलाई राहत महसुस भएको छ ।

कैलालीकै बौनियाबाट अत्तरियाको सुप समावेशी आधारभूत विद्यालयमा पढ्न आएकी छात्रा चित्रकला बिकले अन्य विद्यालयको तुलनामा सुप समावेशीमा पढाईमा सहज भएको बताईन् । ‘बौनियामा कक्षा २ सम्म पढे, त्यसपछि यहाँ आएकी हुँ’ उनले भनीन् ‘त्यहाँको र यहाँको शैक्षिक वातावरण बिल्कुलै फरक छ, साथीहरुको व्यवहार पनि फरक छ, शैक्षिक गतिविधि पनि फरक छ ।’ उनले सुप समावेशीमा अपांगता भएका बालबालिकाहरु नै रहेकाले कसैलाई पनि आफु कमजोर भएको महसुस नहुने बताईन् ।
कक्षा ७ मा पढ्दै गरेकी उनले सुप समावेशीलाई उच्च शिक्षा सम्मको अनुमती पाईए अझै राहत हुने बताईन् । ‘कक्षा ७ मा पढ्दै छु, यो वर्ष अन्तिम हो, त्यसपछि फेरी बाहिर जानुपर्छ’ उनले भनीन् ‘बाहिरको वातावरण प्रायजसो अपांगता भएका व्यक्तिहरुका लागि उपयुक्त हुदैन, त्यस्तो अवस्था शिक्षा आर्जन गर्न पनि गाह्रो हुन्छ ।’ उनले सुप समावेशीलाई नै उच्च तहसम्म अनुमती दिई सरकारले शिक्षकहरुलाई अध्यापनका लागि पठाए आफुजस्ता अपांगता भएका बालबालिकाहरुले सहज रुपमा आवास सहितको शिक्षा पाउने बताईन् । उनले अन्य विद्यालयहरुमा अपांगता भएका बालबालिकाहरुका लागि अपांगमैत्री संरचनाहरु नहुने भएकाले समस्या हुने गरेको बताईन् ।
कैलालीकै टिकापुरबाट सो विद्यालयमा अध्यापन गर्न आएका गौतम बिकले विद्यालयमा पारिवारीक वातावरण पाएको बताए । ‘अपांगता भएका साथीहरु छन, परिवारको जस्तो वातावरण छ’ उनले भने ‘शिक्षक÷शिक्षिकाहरुले पनि राम्रो व्यवहार गर्नुहुन्छ, यहाँ हामीजस्ता बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न सहज भएको छ ।’ कक्षा ७ मा पढिरहेका उनले पनि सुप समावेशीको स्तरोन्नतीको माग गरे ।

‘हामी यो वर्ष अन्तिम हो यहाँ पढ्ने, त्यसपछि अन्य विद्यालयहरुमा जानुपर्छ’ उनले भने ‘अन्य विद्यालयहरुमा आफू अनुकुलको वातावरण भए पढ्न सकिन्छ, नत्र पढाई छोड्नुपर्ने बाध्यता आउँछ ।’ उनले सुप समावेशीलाई उच्च तहसम्मको अध्यापन गर्ने अनुमती दिए आफूजस्ता बालबालिकाहरुलाई पढाईमा सहज हुने बताए । ‘यहाँ हामीजस्ता बालबालिकालाई एकदमै राम्रो शैक्षिक वातावरण छ, हामीले यहाँबाट अपांगता भएका बालबालिकाहरुले पनि जिवनमा केही गर्न सक्छन भन्ने कुरा सिकेका छौ’ उनले भने ‘धेरै अपांगता भएका व्यक्तिहरुको जीवनीबाट हामीलाई प्रेरणा दिने काम सर मेडमहरुले गर्नुहुन्छ, बीचबीचमा हाम्रो स्वास्थ्य अवस्थाको बारेमा पनि चेकजाँच भैरहेको हुन्छ ।’
विद्यालयमा आउनुअघि हिडडुल समेत गर्न नसक्ने उनी अहिले भने हिड्छन, अलि अलि दौडिन्छन पनि । विद्यालयले समय समयमा बालबालिकाहरुलाई मनोवैज्ञानिक परामर्श दिने, फिजियोथेरापिहरु गर्ने लगायतका कामहरु गर्दै आएको छ । जसले गर्दा बालबालिकाहरुमा शारिरीक र मानसिक दुवै किसिमबाट सुधार भैरहेको विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताए । २०६७ सालमा यहाँ अपांगता भएका बालबालिकाहरुको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयको स्थापना गरिएको उनले बताए ।
‘विद्यालयको पहुँच भन्दा बाहिर रहेका शारिरीक रुपमा अपांगता भएका बालबालिकाहरुलाई शिक्षाको दायरामा ल्याउन विद्यालयको स्थापना गरेका हौ’ उनले भने ‘त्यतिबेला बालबालिकाहरु विद्यालय आउन नमान्ने र अभिभावकले पनि छोरी छोरी पठाउन नमान्ने अवस्था थियो । अहिले त त्यस्तो अवस्था छैन ।’ उनले १० जना विद्यार्थीहरुबाट सुरु गरिएको विद्यालयमा अहिले ७२ जना अपांगता भएका बालबालिकाहरु अध्ययन गरिरहेको बताए ।
विद्यालयमा आएसँगै बालबालिकाहरुमा अपांगता भएका व्यक्तिले केही पनि गर्न सक्दैन भन्ने मानसिकता हटेको बताउदै उनले पढेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने सकारात्मक परिपक्कता बालबालिकाहरुमा मौलाएको बताए । उनले विगतभन्दा अहिले अभिभावकहरुको मानसिकतामा पनि परिवर्तन आएको बताए ।
१ जना मात्रै सरकारी दरबन्दीमा शिक्षक रहेपनि अन्य सबै लगाएर अहिले १२ जना कर्मचारीहरुले विद्यालयमा काम गरिरहेका छन । दुर्गालक्ष्मी सामुदायिक वनसँग जमिन मागेर विद्यार्थीहरुलाई अध्यापन गराउनका लागी कच्चि संरचनाबाट सुरु गरिएको उक्त विद्यालयका हाल ५ वटा पक्कि भवनहरु निर्माण भैसकेका छन । विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्दै जाँदा भौतिक संरचनाको भने अभाव हुन थालेको उनले बताए । उनले विद्यार्थीहरुलाई आवाशिय व्यवस्थापन र पढ्ने कक्षाकोठाको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालयसँग रहेका भौतिक संरचनाहरु अपर्याप्त भएको बताए ।
विद्यालयमा बालबालिकाहरुलाई न्युट्रेसन सर्पाेटको लागि एउटा गाई पालिएको छ । गाई पाल्दा बालबालिकाहरुलाई न्युट्रेशन सर्पाेट मिल्नुका साथै कृषि कार्यप्रति उनीहरुको सिकाई पनि बढ्ने साउँदले बताए । उनले त्यसैका लागि विद्यालयमा तरकारी खेती र कुखुरा पालन पनि गरिएको बताए । उनले विगतको तुलनामा विद्यालयको व्यवस्थापनमा सहजता आएको र आगामी दिनमा विद्यालयलाई नमूनाको रुपमा अगाडी बढाउने प्रयास गरिरहेको बताए ।

















