
बन्दकोठा बिचको कुर्सी
अनि कुर्सीमाथी ठिङ्ग उभिएको म
यौटा कठोर निर्णय लिएर
मलाई सिद्याउन
मेरो घाँटी नापीरहेको त्यो डोरी
सायद हतारमा छ
तर आज मलाई कुनै हतार छैन।
**
छेउमा रहेको खेलौनाले पनि गिज्याएझै लाग्छ
लात्तीको साहाराले धकेल्छु,
त्यो भित्तामा झुन्डिएको आफ्नै तस्बिर
कति निकृष्ट छ , कति कायर छ।
म त्यसलाई देखाउने चेष्टामा छु
म कति साहसी र बहादुर छु।
साच्चै
एक झड्कामै आफुलाई सिध्याउनु पनि
बहादुरी हो ररु
मैले आफैंलाई प्रतिप्रश्न गर्छु।
**
मसँगै हासिरहेको छोरीको तस्बिर
एकाएक मानसपटलमा घुम्छ।
सँगै उभिईरहेका बा आमाका चित्र ,
कतै म जिम्मेवारीबाट भागेको त हैनरु
फेरि डोरीलाई हेर्छु
फेरि आफुलाई हेर्छु
डोरीको कर्तव्य डोरीले गर्ला,
मेरो कर्तव्य मैले गर्नुपर्छ, भाग्न मिल्दैन ।
एकाएक आएका यी सोचहरुले
मलाई के चिजमा सफल बनायो थाहा छैन
तर तत्काल,
मैले सफल हुनुपर्ने निर्णयमा
म असफल भएँ।।
पुस्कर साउँद
दिपालय सिलगढी नगरपालिका – १ गोसेडा, डोटी



















