अत्तरिया – कैलालीको अत्तरियामा हिन्दु राष्ट्र नेपालको पक्षमा देशभर सञ्चालन भइरहेको हस्ताक्षर अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहित आयोजित कार्यक्रममा राजा पक्षधरले आफ्ना धारणा राखेका थिए ।

शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा शाही युवा शक्ति नेपाल सुदूरपश्चिम प्रदेश संयोजक राजबहादुर खड्काले अध्यक्षता गरेका थिए । भने कार्यक्रममा शाही युवा शक्ति नेपालका संयोजक पशुपति खड्का प्रमुख अतिथिका रूपमा रहेका थिए ।

अन्तरक्रियाका क्रममा सहभागीहरूले नेपालको वर्तमान राजनीतिक व्यवस्था, राजसंस्थाको पुनः स्थापना तथा सनातन हिन्दु राष्ट्रको पक्षमा सञ्चालन भइरहेको हस्ताक्षर अभियान लगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
आयोजकले राजसंस्था पुनः स्थापना तथा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा हस्ताक्षर अभियान र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् ।
















