दार्चुला – निर्माणाधीन दार्चुला जिल्ला अस्पताल भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि जनाउँदै ठेक्का सम्झौता तोड्न निर्देशन दिएका छन् । जिल्ला अस्पतालमा निर्माणाधीन भवनको स्थलगत अवस्था तथा निर्माण प्रगतिबारे जानकारी लिएपछि मन्त्री लम्सालले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन् ।

मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरबाहीका कारण अस्पताल भवन निर्माणमा अनावश्यक ढिलाइ भएको भन्दै अब थप समय कुर्न नसकिने बताएका छन् । उनले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउँदै निर्माण व्यवसायीलाई सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम कालोसूचीमा राख्न आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने बताएका छन् ।

अस्पताल भवन निर्माणमा भइरहेको ढिलाइका कारण स्वास्थ्य सेवा प्रवाहमा समेत असर परेको भन्दै निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीले सम्बन्धित कार्यालय तथा सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रीको निर्देशनपछि अब निर्माण व्यवसायीमाथि ठेक्का सम्झौता र सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । भवन निर्माणको काम समयमै सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ ।

















