खाेज्नुहाेस

मुख्यमन्त्रीको प्राथमिकता स्वास्थ्य, पहिलो निर्णय डायलाइसिस सेवा विस्तार

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशको स्वास्थ्य सेवा विस्तार र सुधारका लागि डायलाइसिस सेवा बढाउने निर्णय गरेको हो।

attariya hospital

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ।

यस्तै लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय भएको छ।

navjiwan hospital

डायलाइसिस सेवा विस्तार भएपछि मिर्गौला रोगका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने प्रदेश सरकारको अपेक्षा छ। नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीको सङ्ख्या बढ्दै गए पनि प्रदेशका सबै क्षेत्रमा पर्याप्त सेवा उपलब्ध नहुँदा उनीहरूले लामो दूरी तय गर्नुपर्ने अवस्था रहँदै आएको छ।

पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।

शुक्रबार नै मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट सामाजिक विकासमन्त्री सन्तोष कुमारी शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

पदभार ग्रहण गर्दै मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचलाई केन्द्रमा राखेर अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ।