खाेज्नुहाेस

देउवाको घर जाने अलपत्र सडकको मन्त्री लम्सालले गरे अवलोकन

Image

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडादेखि बडाल हुँदै रेलसम्मको सडक वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलासहित चारवटा गाउँलाई जोड्ने यो सडक स्थानीयका लागि ‘लाइफलाइन’ भए पनि निर्माणमा भइरहेको ढिलाइले सास्ती भइरहेको छ ।

२०५४ सालमा उद्घाटन गरिएको यो सडकको भात्काँडा बजारदेखि अगाडिको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन सकेको छैन । सडक जीर्ण हुँदा वर्षायाममा हिलो र खाल्डाखुल्डी तथा अन्य समयमा धुलोका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् ।
पूर्वाधार विकासमन्क्री सुनिल लम्सालले शुक्रबार भात्काँडामा स्थानीयका गुनासा सुन्दै सडकको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयले सडक निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरहीन काम तथा पटक–पटक म्याद थपिए पनि काम सम्पन्न नभएको भन्दै मन्त्रीसमक्ष गुनासो गरेका थिए ।

attariya hospital
navjiwan hospital

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले गाउँमा सडकलगायतका आवश्यक पूर्वाधार नपुग्दा स्थानीय बसाइँ सर्न बाध्य भइरहेको बताए । ‘वर्षौंदेखि सडक निर्माणको आश्वासन पाए पनि स्थानीयले सहज आवागमनको सुविधा पाउन सकेका छैनौं,’ उनले भने, ‘आधारभूत सुविधाकै कमीले यहाँबाट बसाइँ सर्ने क्रम घटेको छैन ।’

स्थानीयले मन्त्री लम्सालसित सडक डिभिजन कार्यालयले मन्त्री वा पूर्वप्रधानमन्त्री गाउँ आउने बेला मात्रै सडकका खाल्डाखुल्डी पुर्ने र अन्य समयमा सडक लथालिङ अवस्थामा छाड्ने गरेको गुनासो गरेका छन् । चुनावका बेला सडक निर्माणको विषयलाई प्रचारको माध्यम बनाइए पनि त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ ।

सडक डिभिजन कुलपातेका डिभिजन प्रमुख रमेश भट्टराईका अनुसार हाल कार्यालयबाट चार किलोमिटर खण्डको मात्रै ठेक्का लागेको छ । कुल सडक करिब ४० किलोमिटर रहेको र २५ किलोमिटरको डीपीआर तयार गर्दा आयोजनाको लागत एक अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको पनि उनले बताए ।

भात्काँडा–बडाल–रेल सडक निर्माणका लागि एएनके–जोशी–मालिका जेभी कम्पनीले २०७८ सालमा ठेक्का लिएको थियो । २०८० सालभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम पूरा भएन । त्यसपछि २०८२ सालसम्म म्याद थप गरिए पनि निर्माण कम्पनीले काम पूरा नगरी आयोजना अलपत्र पारेको स्थानीयको आरोप छ । निर्माण भएको केही कामसमेत गुणस्तरहीन रहेको उनीहरूको गुनासो छ ।