खाेज्नुहाेस

अत्तरियामा १० क्विन्टल गोलभेडाको स्याम्पलमा रेड लेबल विषादी भेटियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजार केन्द्रको एक पसलमा रेड लेबल विषादी युक्त गोलभेडा फेला परेको छ । अत्तरियामा रहेको बिषादी अवशेष दुत बिश्लेषण इकाईले रोल्पाबाट ल्याइएको १० क्विन्टल गोलभेडाको स्याम्पल परिक्षण गर्दा रेड लेबल विषदी भेटिएको हो ।

उक्त गोलभेडा मंगलबार थोक बजारमा रहेको श्रीजना एण्ड रोसनी सप्लायर्सले भित्र्याएको थियो । उक्त गोलभेडाको बुधबार स्याम्पल परिक्षण गर्दा रेड लेबल विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले बताए । उनका अनुसार रेड लेबल युक्र विषादी भेटिएमा उक्त तरकारी खान मिल्दैन ।

attariya hospital

इकाईले गरेको स्याम्पल परिक्षणमा १० क्विन्टल गोलभेडा खान नमिल्ने देखिएपनि १७५ किलोग्राम मात्रै नष्ट गरिएको छ । बाँकी गोलभेडा भने रिपोर्ट आउनु अगाडी नै बजारमा बिक्री भइसकेकोले खोजी गर्न सम्भव नभएको एकाई प्रमुख ठगुन्नाले बताए ।

४५ प्रतिशत भन्दा बढी मात्रामा विषादी भेटिएमा रेड लेबल युक्त विषादीको सूचीमा राखिने इकाइका प्राविधिक राजेन्द्र प्रशाद भट्टले बताए । उनका अनुसार ३५ प्रतिशत भन्दा कम मात्रामा विषादी भेटिए खान मिल्छ भने ३५ देखि ४५ प्रतिशत विषादीको मात्रा भेटिए त्यसलाई पहिलो बिषादी युक्त तरकारीको सूचिमा राखेर २/४ दिन राखेर पुनः परिक्षण पछि मात्रै खान मिल्छ । तर, ४५ प्रतिशत भन्दा बढी मात्रामा बिषादी भेटिएमा भने त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ ।

सोहि अनुसार ४५ प्रतिशत भन्दा बढी (रातो लेबल) विषादी भेटिएको १७५ किलोग्राम गोलभेडा नष्ट गरिएको छ । उक्त गोलभेडा कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष नन्दलाल भट्ट, गोदावरी नरपालिकाका प्रवक्ता गोपाल भट्ट लगायत पत्रकार, प्रहरी र स्थानीयको रहोबरमा नष्ट गरिएको थियो ।

navjiwan hospital

चालु आवमा ७ नमूनामा बिषादी

बिषादी अवशेष दुत बिश्लेषण इकाईले चालु आर्थिक बर्षमा ४८१ नमूनाको बिषादी परिक्षण गर्दा ७ नमूनामा बिषादी फेला परेको छ । जसमध्ये ४ गोलभेडा र १/१ काक्रा, लौका र काउलीका नमूना रहेका छन । ति मध्ये ३ नमूना मात्रै नष्ट गरिएको र बाँकी रिपोर्ट आउनु अघि नै बजारमा बिक्री भएकाले नष्ट गर्न नसकिएको इकाइका प्रमुख ठगुन्नाले बताए ।

सुरुमा भारतबाट आएको तरकारीमा पनि विषादी परिक्षण गर्दै आएको इकाईले गत आर्थिक बर्षको कार्तिक महिना देखि भने स्थानीय बजारका नमूना मात्रै परिक्षण गर्दै आएको छ । हाल भारतबाट आउने तरकारी सीमा नाकामै परिक्षण हुँदै आएको छ ।

इकाई प्रमुख ठगुन्नाले भारतबाट आएको तरकारी, फलफुल भन्दा पनि नेपालबाट आएको तरकारी, फलफुलमा बढी विषादी भेटिने गरेको बताए । उनले भारतबाट ढीलो गरी नेपाल पुग्ने भएकाले पनि विषादीको मात्रा नष्ट भएको हुन सक्ने बताए ।

उनले विषादीयुक्त तरकारीको उत्पादन रोक्न सबैभन्दा पहिले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए । ‘सरकारले स्थानीय स्तरमै विषादीमुक्त तरकारी उत्पादन गर्न जनचेतना दिन आवश्यक छ’ उनले भने ‘उपभोक्ताले पनि बजारबाट किनेर ल्याएको तरकारी १० प्रतिशत नुन पानीमा राम्रो संग पखालेर खादा विषादीको मात्रा घट्छ ।’ बिषादीयुक्त तरकारी खादा क्यान्सर, किट्नीको रोग, लिभरको रोग र जन्मजात भूणमै अपाङ्गता भएर जन्मने समस्या आउन सक्ने उनले बताए ।

कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष भट्टले आफूहरुले बजारमा विषादीयुक्त तरकारी भित्रिन नदिन परिक्षणको दायरा बढाएको बताए । उनले थोक बजार भन्दा बाहीरबाट पनि तरकारी फलफुलको कारोबार हुने गरेकाले सबै नियन्त्रण गर्न समस्या भएको बताए ।