डोटी – दिपायल सिलगढी नगरपालिकाको आयोजनामा डोटीमा पहिलो पटक एक किशोरीको पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाइएको छ । कतिपय ठाउँमा किशोरीहरूलाई पहिलो महिनावारी हुँदा विद्यालय जान नदिने, लुकाएर राख्ने, बोटबिरुवा, गाईवस्तु वा पुरुषहरूलाई छुन नदिने जस्ता अभ्यास कायमै रहेका बेला दिपायल सिलगढी नगरपालिका–२ की आयुसी सुनारको पहिलो महिनावारीलाई सम्मानपूर्वक उत्सवका रूपमा मनाइएको हो । आयुसी दिल्पेश्वर माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् ।
परिवारले महिनावारीलाई लाज र विभेदको विषय नभई महिलाको प्राकृतिक जैविक प्रक्रिया र प्रजनन स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण चरणका रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिएको छ ।
आयुसीका बुवाले समाजमा अझै पनि महिनावारीका नाममा किशोरीहरूलाई विभेद गरिने अवस्था रहेको भन्दै यस्तो कुप्रथा अन्त्य गर्न परिवारकै भूमिका महत्वपूर्ण हुने बताए ।


‘म पुरुष भएकाले यो समस्या आफैंले भोगिनँ, तर मेरी छोरी कुप्रथाका कारण असुरक्षित हुनु मलाई स्वीकार्य छैन,’ उनले भने, ‘म उसको साथी बन्न चाहन्छु, उसलाई बुझ्न चाहन्छु र सधैं माया, साथ र राम्रो हेरचाह दिन चाहन्छु ।’
परिवारका सदस्यहरूले किशोरीहरूलाई महिनावारीको समयमा डर होइन, माया, साथ, पोषण र आत्मविश्वास आवश्यक पर्ने बताएका छन् । नगरपालिकाले सञ्चालन गरिरहेको पारिवारिक संवाद तथा रूपान्तरण कक्षाबाट प्रेरित भएर परिवारले यस्तो कार्यक्रम आयोजना गरेको बताइएको छ । कार्यक्रममा परिवार, छिमेकी तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
महिला तथा बालबालिका शाखाकी प्रमुख सानुमाया गुरूङले महिनावारीलाई अझै पनि समाजमा लाज, डर र विभेदसँग जोडेर हेरिने गरिएको बताइन् । उनले विशेषगरी सुदूरपश्चिममा किशोरीहरू विभिन्न कुसंस्कारका कारण मानसिक र सामाजिक रूपमा पीडित बन्ने अवस्था रहेको उल्लेख गर्दै यही सोच परिवर्तन गर्न नगरपालिकाले पहिलो महिनावारीलाई सम्मान र सकारात्मक सन्देशसँग जोडेर उत्सवका रूपमा मनाउने अभियान सुरु गरेको जानकारी दिइन् ।
नगरपालिकाका अनुसार डोटीमा पहिलो पटक पहिलो महिनावारीलाई सार्वजनिक रूपमा उत्सवका रूपमा मनाइएको हो । यसले महिनावारीप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै महिलामाथि हुने विभेद अन्त्य गर्न नयाँ सन्देश दिएको विश्वास गरिएको छ ।

















