अत्तरिया – कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनको लागि दबाव दिन सडक र सदनबाट संगसंगै आवाज उठाउने प्रतिवद्धता गरिएको छ । आईतबार अत्तरियामा संघिय सांसद सहितको छलफल कार्यक्रममा सो प्रतिवद्धता गरिएको हो ।
सांसद डा. दिपक प्रसाद भट्टको आथित्यमा गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले आयोजना गरेको छलफलमा बोल्ने बक्ताहरुले गेटामा मेडिकल विश्वविद्यालय बनाउनु पर्ने र, त्यसका लागि थप संघर्ष गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

छलफलमा बोल्दै सांसद भट्टले स्वास्थ्यको क्षेत्रमा राज्यले विगतदेखि नै सुदूरपश्चिम प्रदेशलाई पछाडी पारेको बताए । ‘अब यसको क्षतिपुर्ती सहित यसलाई विश्वविद्यालयका रुपमा अगाडी बढाउनुपर्छ’ उनले भने ‘यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको विकास र यस क्षेत्रका जनताले देखेको सपना पुरा गर्नका लागि देशकै पहिलो राष्ट्रिय चिकित्सक विश्वविद्यालय स्थापना गरिन आवश्यक छ ।’
उनले आफूले यस बिषयमा संसदमा आवाव उठाउँदै आएको र आगामी दिनमा पनि थप सशक्त रुपमा आवाज उठाउने प्रतिवद्धता गरे । ‘म संसदमा यस बिषयमा बोल्ने छु । तर, म संसदमा बोलेपनि सडकबाट पनि दबाद दिन आवश्यक छ’ उनले भने ‘म बोल्नका लागि सदनमा जाउँला तर संघर्षका लागि म तपाईहरु संग सडकमा आउन तयार छु ।’ उनले सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गेटा मेडिकल कलेजलाई राख्न उपयुक्त नहुने धारण राखे । उनले प्रतिष्ठानको मोडालिटीमा पनि गेटा मेडिकल कलेजलाई संचालन गर्न उपयुक्त नहुने बताए ।
‘विश्वविद्यालय बनाउदाँ यसले आफ्नै थुप्रै मेडिकल कलेज चलाउन सक्छ’ उनले भने ‘प्रतिष्ठानको सिमित क्षेत्र छ । प्रतिष्ठानको खर्चमै यसलाई मेडिकल विश्वविद्यालयका रुपमा संचालन गर्न सक्छै ।’
संघर्ष समितिका संयोजक लोकराज पाण्डेले (आगो) ले भौतिक संरचना निर्माण भइसकेकाले तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालयको मोडेलमा संचालन गर्न आवश्यक रहेको बताए ।

‘हाम्रो संघर्ष स्पष्ट छ । हामी अब मेडिकल विश्वविद्यालय नै हुनुपर्छ भनेर लागेका छौ’ उनले भने ‘मेडिकल विश्वविद्यालय बनाउन सकेमा मात्रै यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्न सक्छै ।’ उनले गेटामा मेडिकल विश्वविद्यालय बनाएर यसबाट अन्य ठाउँमा आंङ्गिक मेडिकल कलेज खोल्न सकिने बताए ।
संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा मेडिकल विश्वविद्यालयको लागि आफूहरु नियमित संघर्षमा रहेको बताए । ‘अग्रजहरुको योगदानले अहिले गेटामा थुप्रै संरचना बनेका छन । तर, पछिल्लो सयम नेपाल सरकारको रबैयाका कारण हामी ससंकित भएका छौ’ उनले भने ‘त्यसपछि हामीले तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालयको माग अगाडी सारेका हौ ।’
संघर्ष समितिका सचिव धर्म सिह कुँवरले सरकारले गेटामा अस्पताल संचालन गरी चिकित्सा शिक्षा अध्यापन नगराउदा सम्म आफूहरुको आन्दोलन नरोकिने बताए ।
छलफल कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि जुनसुकै हालतमा पनि अब गेटा मेडिकल विश्वविद्यालय नबनाउँदा सम्म संघर्षका कार्यक्रम जारी रहनुपर्ने धारणा राखेका थिए ।
गेटामा करिव साढे ४ अर्वको लागतमा अस्पताल, कलेज, छात्रवास, आवास लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका छन । ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएका उक्त भवनमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने सरकारले लक्ष्य लिएको थियो ।
जसअन्तरगत सरकारले आर्थिक वर्ष २०६६/०६७ मा प्रस्तावित मेडिकल कलेज निर्माणको घोषणा गरेको भएपनि भौतिक संरचना निर्माणको काम भने २०७३ सालदेखि सुरु भएको थियो । हाल प्रस्तावित मेडिकल कलेजको ९० प्रतिशत भौतिक संरचनाको काम सकिएको भएपनि यसलाई कुन मोडालिटी (प्रारुप) मा संचालन गर्ने भन्ने बहस जारी नै छ ।






















