अत्तरिया – अत्तरियाका टेकेन्द साउँद तेक्वान्दो खेलाडी हुन । राष्ट्रिय स्तरको प्रतिस्पर्धा खेलिसकेका साउँदले अत्तरियामा खेल अभ्यास गर्ने ठाउँको अभाव झेल्दै आएका थिए । तर, बिहिबार देखि भने अत्तरियामै सुदूरपश्चिम प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता भएपछि भने उनले आफ्ना समस्या देखाउन र सरोकारबाला निकायलाई घचघच्याउने मौका पाएका छन ।
‘फुटबल भलिबल जस्तै यो खेलको लागि पनि काम गरिनुपर्छ’ अत्तरिया तेक्वान्दो डोजाङ्गमा प्रशिक्षण लिइरहेका साउँदले भने ‘तत्कालका लागि आफूहरुलाई खेल मैदानको अति आवश्यकता रहेकोे छ ।’

उनले तेक्वान्दो इन्डोर खेल भएपनि आफूहरुले जंगलमा प्रशिक्षण गर्नुपरिरहेको बताए । ‘तत्काल हामी हल सुविधा चाहियो त भन्दैनौ तर, हामीलाई एउटा सुरक्षित खेल मैदान भएपनि खेल्न सहज हुन्थ्यो’ उनले भने ‘अहिले हामीले जंगलमा खेलिरहेका छौ । यहाँ बिभिन्न किसिमका मानिसहरु आएर खेल्न अवरोध गरिरहेका हुन्छन । बिभिन्न कुलतमा लागेका मानिसहरु यो खेल मैदान छेउमा आएर अवरोध गरिरहेका हुन्छन ।’
तेक्वान्दो डोजाङ्ग अत्तरिया प्रमुख इन्द्र बहादुर सिँहले यो क्षेत्रमा पनि खेल मैदान आवश्यक रहेछ भन्ने सन्देश दिन प्रतियोगिताको आयोजना गरिएको बताए । ‘तेक्वान्दो खेल अहिले धनगढी र महेन्द्रनगरमा सिमित छ । यो इन्डोर खेल भएकाले अन्य ठाउँमा हलको अभावमा यसको ब्यापक बिस्तार हुन सकेको छैन’ उनले भने ‘इन्डोर हल नभएका क्षेत्रमा तेक्वान्दोको राम्रो क्रेज भएपनि यसका लागि आवश्यक संरचना नहुँदा समस्या छ ।’
उनले सुदूरपश्चिमको राजधानी तोकिएको क्षेत्रमा एउटा हल नहुनु दुःखको कुरा भएको बताए । ‘यो क्षेत्रमा कवर्ड हलको त कुरै छोडौं यो क्षेत्रमा खेल्नका लागि खेल मैदान पनि छैन’ उनले भने ‘अहिले प्रदेश स्तरको कार्यक्रम पनि खुला आकाशमुनी जंगलको किनारामा गर्दा धेरै समस्या भएको छ । सुरक्षाका दृष्टिकोणले पनि जोखिम छ । यो क्षेत्रमा कवर्ड हल नभए पनि खेल मैदान भइदिए पनि सहज हुन्थ्यो ।’

उनले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यस क्षेत्रका खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । उनले अत्तरियामा आफूले स्थापना गरेको तेक्वान्दो डोजाङ्गबाट प्रदेशमै सबैभन्दा बढी ब्ल्याक बेल्ड खेलाडी उत्पादन गरेको भएपनि यस खेलका लागि आवश्यक पुर्वाधारको भने निकै अभाव भएको बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिँहले पहिलो पटक अत्तरिया क्षेत्रमा प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरिएको बताए । उनले नेपालमा खेलकुदका प्रतियोगिता धेरै भएपनि भौतिक पुर्वाधारका काम भने निकै न्यून हुने गरेको बताए ।
‘त्यसैको लागि दवाव दिनका लागि नगर क्षेत्रमा खेलकुद स्टेडियम बनाउन यसबाट दवाव पुग्छ’ उनले भने ‘यो इन्डोर प्रतियोगिता भएपनि हलको अभावमा खुला ठाउँमा गर्नुपर्ने बाध्यता छ । अहिलेका खेलकुदका कार्यक्रम बजारमूखि भएका छन । गाउँमा प्रतियोगिता गर्नका लागि कति कठिनाई छ भनेर यसबाट देखिन्छ ।’ उनले खुल्ला ठाउँमा मेट राख्नका लागि पनि खाली ठाउँको अभाव रहेको बताए ।
अत्तरियामा बिहिबार देखि ‘प्रथम मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता–२०७८’ सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले उद्घाटन गरेका थिए ।
तेक्वान्दो डोजाङ्ग अत्तरियाले आयोजना गरिएको प्रतियोगिताको मूख्य प्रर्वद्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र हस्पिटल पार्टनर पद्मा अस्पताल प्रालि अत्तरीया रहेको छ ।
प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आयोजक टिम गरि ६ टिम सहभागि रहेका छन । प्रतियोगिता २६ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अत्तरियाको पहाड रोडमा रहेको दुर्गालक्ष्मी सामुदायीक वन क्षेत्रमा संचालन भइरहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार रहेको छ । १०८ जना खेलाडी र २० जना निर्णायक रहेका छन ।

















