काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी प्रहरी पोसाक लगाएका तस्बिर तथा भिडिओ बनाउने क्रम बढेपछि नेपाल प्रहरीले कारबाहीको चेतावनी दिएको छ । शनिबार एक भिडिओ राख्दै प्रहरीले पोसाक, हत्कडी वा पक्राउसँग सम्बन्धित दृश्य डिजिटल रूपमा सिर्जना गरी गलत सन्देश फैलाउनेलाई कानुनी कारबाही गरिने जनाएको छ ।
भिडिओमा प्रहरी निरीक्षक कालिका कार्की र प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भनेका छन्, “आजभोलि सोसल मिडियामा एआई प्रयोग गरेर प्रहरी पोसाकमा फोटो र भिडिओ बनाउने ट्रेन्ड बढ्दै गइरहेको छ । तर, बिना अनुमति प्रहरीको पोसाक प्रयोग गर्नु, त्यसलाई डिजिटल्ली परिवर्तन गर्नु वा गलत रूपमा प्रस्तुत गर्नु कानुनविपरीतको कार्य हो ।”


त्यस्तै, उनीहरूले यस्ता सामाग्री निर्माण वा प्रयोग गर्ने कार्य कानुनी कारबाही र दण्डको भागीदार हुने चेतावनी दिएका छन् । “प्रहरी पोसाक केवल कपडा मात्र होइन, यो सेवा, सुरक्षा र राष्ट्रप्रतिको समर्पणको प्रतीक हो । त्यसैले एआई र प्रविधिको प्रयोग सिर्जनात्मक र जिम्मेवार कामका लागि गरौँ, दुरुपयोगका लागि होइन,” उनीहरूले भनेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा कुनै व्यक्ति पक्राउ पर्ने चर्चा चल्नासाथ एआईमार्फत पक्राउ परिसकेको देखिने भिडिओ तथा तस्बिर बनाइ फैलाउने क्रम बढेको छ । हत्कडी नलगाएको व्यक्तिलाई हत्कडी लगाएको देखाउने, आरोपी पक्राउ पर्दा प्रहरी रमाइरहेको दृश्य सिर्जना गर्ने लगायतका सामग्री व्यापक रूपमा शेयर भइरहेका छन् ।
यस्ता एआई-निर्मित सामग्रीबारे टेकपानाले फ्याक्टचेक समेत गर्दै आएको छ ।


















