खाेज्नुहाेस

अत्तरियामा रास्वपालाई भिड व्यवस्थापन गर्न हम्मे हम्मे, कार्यक्रम स्थल नै फेरियो

Image
navjiwan hospital
अत्तरिया – कैलालीको अत्तरियामा शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  गोदावरी नगर समिति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को संयुक्त कार्यालय उद्घाटन गर्ने कार्यक्रममा भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।
पार्टी कार्यालयमा उद्घाटन स्थलमा आकलन गरेभन्दा धेरै भिड जम्मा भएपछि नगर समितिले उद्घाटन पूर्व आयोजना गर्ने तय गरेको कार्यक्रमको स्थल नै फेर्नुपरेको थियो ।
रास्वपा नगर समितिले बिहान ९ बजे गोदावरी नगरपालिका–२, लोटस गल्लीस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रम तय गरेको थियो । कार्यालय उद्घाटन कार्यक्रम पार्टी कार्यालयको हलमै गर्ने गरी आयोजकले आमन्त्रण गरेको थियो । तर, आयोजकले आकलन गरेको भन्दा निकै धेरै मानिस कार्यक्रममा सहभागी हुन आएपछि व्यवस्थापनमा निकै हम्मे हम्मे प-यो ।
३०/४० जना मात्रै अटाउने कार्यालयको हलमा कार्यक्रम गर्न सम्भव नभएपछि तत्काल उद्घाटन कार्यक्रमको स्थान परिवर्तन गरेर नजिकै रहेको नमस्ते होटलको पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो । जसमा करिब ३ सय भन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो । नगर सभापति धामीले धेरै मानिस आएपछि तत्काल कार्यक्रमको स्थान परिवर्तन गर्ने निर्णय लिनुपरेको बताए ।
पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरिएपछि पुनः पार्टी कार्यालयमा आएर प्रतिनिधिसभा सदस्य खेमराज कोइराला र रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इ. प्रकाश विष्टले पार्टीको चुनाव चिन्ह घण्टी बजाएर कार्यालय उद्घाटन गरेका थिए ।
नयाँ कार्यालय सञ्चालनसँगै गोदावरी नगर समिति र निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका पार्टीका गतिविधि तथा सङ्गठनात्मक कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने बताइएको छ ।
attariya hospital