अत्तरिया – प्रतिनिधि सभा सदस्य खेम राज कोइरालाले छाडा चौपाया व्यवस्थापनको लागि कार्यविधि बनिरहेको बताएका छन् । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समिति तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को संयुक्त कार्यालय उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले कार्यविधि बन्ने बित्तिकै छाडा चौपाया व्यवस्थापनको क्रम अगाडि बढ्ने बताए ।
‘छाडा चौपाया व्यवस्थापनको लागि कैलाली कञ्चनपुरका सबै साथीहरू एक ठाउँमा भएर यो सुदूरपश्चिमका किसानहरूको ठुलो समस्याको रूपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि कृषि मन्त्री, सम्माननीय प्रधानमन्त्री ज्यू सँग पनि हामीले यो समस्या राखेर कार्यविधि बनिरहेको छ’ उनले भने ‘कार्यविधि बन्ने बित्तिकै छाडा चौपाया व्यवस्थापनको क्रम अगाडि बढ्ने छ ।’ उनले हाल संघिय सरकारको कृषि मन्त्रालयले यसको कार्यविधि बनाइरहेको बताए ।

उनले किसानले भोग्नुपरेको मलको समस्या भने अमेरिका र इरान युद्धका कारण भएको बताए । ‘अहिले मलमा वास्तवमै समस्या देखिएको हो । अमेरिका र इरान युद्धका कारण हामीले ल्याउनुपर्ने नाकाहरू अवरुद्ध भएका कारणले गर्दा मलमा समस्या आएको हो’ उनले भने ‘यसलाई सरकारले पनि स्विकारिसकेको छ । हामीले पनि कमीकमजोरीका रूपमा स्वीकार गरिसकेका छौ । मैले त मेरो क्षेत्रमा पहल गर्दा गर्दै पनि मल पुगाउन नसकेको भन्दै माफी पनि मागेको छु ।’
उनले किसानको सिचाइको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने तयारी भइरहेको बताए । उनले यस क्षेत्रमा भएका कुनै पनि नदी दीर्घकालीन नभएकाले कर्णाली, महाकाली सिचाइको जोड्ने गरी पहल भइरहेको बताए ।

‘यस क्षेत्रको गौरीगंगा, गोदावरी क्षेत्रमा सिचाइका लागि महाकाली सिँचाई परियोजना र रानी जमरा कुलरिया परियोजनालाई यसलाई जोड्नको लागि सम्भाव्यता अध्ययन गरिदिनुप¥यो, त्यसो भयो भने दीर्घकालीन सिचाई सम्भव हुन सक्छ भनेर सम्बन्धित विज्ञहरू सँग पनि सल्लाह गरिरहेको छु । अर्थमन्त्री सँग पनि कुरा चलिरहेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष ज्यु सँग पनि कुरा चलेको छ । सम्बन्धित मन्त्रालयमा पनि कुरा चलिरहेको छ’ उनले भने ‘यसका लागि ५ वर्ष लाग्ला, ७ वर्ष लाग्ला, १० वर्ष लाग्ला, १५ वर्ष लाग्ला तर, दीर्घकालीन सिचाई योजना बनाउनु पर्छ भन्ने कुराको सुरुवात गरेका छौ ।’
उनले गेटा विश्वविद्यालयमा आगामी शैक्षिक सत्र देखि एमडीको पढाई पनि सुरु हुने बताए । उनले अब सङ्घर्ष नभएर एकताबद्ध भएर अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले हरैया आर्थिक विशेष क्षेत्र सेजलाई औद्योगिक क्षेत्रको विकासका लागि पनि हामीले छलफल गरिरहेको बताए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ वर्षको योजना बनाएर काम गरिरहेको बताउँदै पहिलो आर्थिक वर्षमै धेरै बजेट नपरेको भनेर नआत्तिन आग्रह गरे ।
उनले ग्यासको समस्या अहिलेको मानवनिर्मीत समस्या भएको बताए । ४१ लाख सिलेण्डर आयात गरिदा पनि समस्या देखिएको छ । जबकि पहिला सबैभन्दा धेरै ३३ लाख सिलेण्डर मात्रै आयात भएको रेकर्ड छ । यो समस्या एक हप्ता भित्रमा समाधान हुन्छ भनेर मन्त्रिले नै भनिसकेको उनले बताए ।
स्वास्थ्य बिमामा पनि समस्या देखिएको बताउँदै उनले विगतमा २÷३ आर्थिक वर्षकै बाँकी रहेकोले समस्या भएको बताए । उनले यसमा केही विसङ्गति पनि देखिएकाले यसमा सुधार गरेर अगाडि बढिरहेको बताए ।

















