खाेज्नुहाेस

११ वर्षपछि बन्न थाल्यो आफ्नै भवन

Image

अत्तरिया – स्थापनाको ११ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका – ८ रैकवार विचुवामा रहेको ईलाका प्रहरी कार्यालयको आफ्नै भवन बन्न थालेको छ । २०६७ सालमा साविक रैकवारविचुवा गाविस र हालको कृष्णपुर नगरपालिका – ७, ८ र ९ को सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै स्थापना गरीएको उक्त कार्यालयको भवन नगरपालिकाको सहयोगमा बन्न थालेको हो ।

चालु आर्थिक वर्षमा नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि ईलाका प्रहरी कार्यालयले नयाँ भवन पाउन लागेको ईलाका प्रहरी कार्यालय रैकवार विचुवाका कार्यालय प्रमुख प्रहरी नायब निरिक्षक उदय सिँह कडायतले बताए । करिब १० वर्षअघिदेखि कार्यालयको नाममा आफ्नै ५ कट्टा जमिन भएपनि भवन बनाउका लागि आवश्यक बजेट नहुँदा हालसम्म पनि भाडाँको घरमा बस्दै आएको उनले बताए ।

attariya hospital

‘११ वर्षदेखि यो कार्यालय भाडाँको घरमा छ, कच्ची घर छ, वर्षायाममा चुहिन्छ, सर्पको पनि डर हुन्छ’ उनले भने ‘वर्षायाममा नगरपालिकाले दिएको पाल हालेर पनि बसियो, कार्यसम्पादनमा त झन साह्रै समस्या भैरहेको अवस्था छ ।’

उनले नगरपालिकाले कार्यालयको समस्यालाई ध्यानमा राख्दै बजेट विनियोजन गरिदिएको भन्दै खुसी व्यक्त गरे । कार्यालयको आफ्नै भवन नहुँदा कैदीबन्दी राख्न र आफु बस्न समेत समस्या भैरहेको उनले बताए ।

‘यतिन्जेलसम्म साह्रै दुःख झेलियो, मान्छे पक्रेर ल्यायो भने थुन्ने ठाउँ समेत छैन’ उनले भने ‘ट्वाईलेटको पनि समस्या छ, आफ्नै जमिन भएर पनि भवन नहुँदा दुःख पाइएको छ ।’ उनले स्रोत साधनले नभ्याउदाँ समस्या भैरहेको समयमा नगरपालिकाले दिएको सहयोग तारिफयोग्य रहेको बताए । उनले उक्त बजेट अनुसार नगरपालिकाले उपभोक्ता समितिमार्फत ४ कोठा निर्माण गर्न मिल्ने हल बनाईरहेको र त्यसैलाई पछि पार्टेसन गरेर प्रयोग गरिने बताए ।

कार्यालयमा हाल ११ जना जनशक्ति रहेकोमा पेट्रोलिङ गर्नका लागि साधन अभावले समस्या भैरहेको उनले बताए । उनले कार्यालयले हेर्ने क्षेत्र ठूलो भएको र काम गर्न समस्या भैरहेकाले एउटा गाडीको पनि व्यवस्था भए राहत हुने बताए । ईलाका प्रहरी कार्यालयको भवन निर्माण हुन थालेपछि स्थानीयहरु पनि खुसी भएका छन ।

स्थानीय करन सिँह ऐरले नजिकै चौकीको भवन बन्न लागेकाले पहिलेको तुलनामा आफुहरुले बढी सुरक्षाको अनुभुती गर्न पाउने बताए । उनले यसअघि अर्काको भवनमा हुँदा आफ्नै अवस्था नाजुक भएको प्रहरीले जनताको सुरक्षा कसरी गर्ला भन्ने चिन्ता रहेकोमा अब सो चिन्ता हट्ने बताए । उनले भाडाँको चुहिने र बिना ट्वाईलेटको घरमा प्रहरीहरुलाई अफ्ठ्यारो भैरहेको आफुहरुले पनि अनुभुती गरेको अवस्थामा नयाँ भवन बन्नु खुसीको कुरा भएको बताए ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धव राज अवस्थीले २९ लाखको लगानीमा ईलाका प्रहरी कार्यालय रैकवार विचुवाको भवन निर्माण भैरहेको बताए । उनले भवन निर्माणका लागि नगरपालिकाको २५ लाख र उपभोक्ताको ४ लाख ४१ हजार ६ सय ४५ रुपैया लगानी रहेको बताए । उनले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म भवन निर्माणको काम सम्पन्न गर्ने गरी नगरपालिकासँग सम्झौता भएको बताए ।

नगरप्रमुख हमालद्धारा शिलान्यास

navjiwan hospital

भवनको आईतबार कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले शिलान्यास गरेका छन । शिलान्यास पश्चात बोल्दै उनले विगतदेखि नै भाडाँको घरमा बस्दै आएको ईलाका प्रहरी कार्यालय रैकवार बिचुवाका लागि नगरपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरेको बताए ।

‘२०६७ सालमा ईलाका प्रहरी कार्यालय पिपरियाका नामले स्थापना भएको प्रहरी कार्यालय भाडाँको घरमा बस्दै आएको थियो’ उनले भने ‘भाडाँको घरमा समस्या भैरहेको भन्ने थाहा पाएपछि चालु आर्थिक वर्षमा उक्त कार्यालयको भवन निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेका हौ ।’

शान्तिसुरक्षाका सवालमा नगरबासीलाई सुरक्षाको अनुभुती दिलाउन सुरक्षाकर्मीको आवश्यकता अनिवार्य रहेको बताउदै उनले त्यसका लागि सुरक्षाकर्मीको पनि व्यवस्था हुन जरुरी रहेको बताए । उनले संघिय सरकारले भवनको योजना लिएर निर्माण गर्नुपर्ने भएपनि हालसम्म भवन निर्माणका प्रकृया अगाडी नबढेकाले नगरपालिकाले बजेट विनियोजन गरेको बताए ।

उनले भवन निर्माण पश्चात रैकवारबिचुवा क्षेत्रमा प्रहरीलाई विभिन्न कार्यमा सहजता प्रदान हुने विश्वास व्यक्त गरे । उनले सुरक्षाको सवालमा नगरपालिकाले अन्य विभिन्न सुरक्षाका निकायहरुको व्यवस्थापनका लागि पनि बजेट विनियोजन गरेको बताए ।

उनले गुलरियामा रहेको ईलाका प्रहरी कार्यालयमा पनि ग्यारेज निर्माण, फर्निचर निर्माण र कार्यालयको गेटदेखि घेरबारको कार्य अगाडी बढाएको बताए । यसैगरी सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी कार्यालयमा पनि नगरपालिकाले करिब ८ सय मिटर बाटो पानीपिँच गर्नुका साथै खानेपानी ट्यांकी र गेट निर्माणको कार्यलाई अगाडी बढाएको बताए । नगरको सुरक्षा व्यवस्थालाई विशेष ध्यानमा राखि नगरपालिकाले विभिन्न सुरक्षा निकायहरुमा सामग्री क्रियाकलापहरुका लागि काम गरीरहेको उनले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्बर २ वाणिमा रहेको अस्थायी प्रहरी पोष्टमा पनि नगरपालिकाले मोटरसाईकल प्रदान गरिएको छ ।

नगरपालिकाले प्रहरीहरुको निम्ती आवश्यक ईन्धनको पनि व्यवस्था गरेको उनको भनाई छ । नगरपालिकाका विविध कार्यहरुले गर्दा नै नगरभित्र हुने विभिन्न विपद्का घट्नाहरु घट्दा सुरक्षा निकायले छिटोछरितो किसिमले काम गर्न सक्ने स्थिति सिर्जना भएको नगरप्रमुख हमालको भनाई छ ।

६ वटा सिसिटीभि क्यामेरा जडान

नगरपालिकाले सुरक्षाको व्यवस्थालाई ध्यानमा राखेर नै नगरपालिकाको वडा नं. ५ गुलरिया चोकमा ६ वटा सिसिटीभि क्यामेरा जडान गरेको छ । जडान गरिएका क्यामेराहरुले सडक दुर्घटना रोक्न र प्रहरीलाई अनुसन्धानको लागि सहज गरेको नगरपालिकाको बुझाई छ ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत मदनराज पाण्डेयले गत आर्थिक वर्षमा नगरपालिकाले करिब ४ लाखको लगानीमा गुलरिया चोकमा ६ वटा सिसिटीभि क्यामेराहरु जडान गरेको बताए । जसमध्ये २ वटा गाडीको नम्बर प्लेट हेर्नका लागि पिटिजेड क्यामेरा र ६ वटा रातीमा हेर्नका लागि नाईट कलर भिजन क्यामेरा जडान गरिएको बताए ।

उनले नगरपालिकाको उक्त बजेटमा नै सिसिटीभी जडानका लागि आवश्यक पर्ने सामग्री आवश्यकता भन्दा बढी राखिएको र भविष्यमा अझै क्यामेराहरु जडान गर्न चाहे अन्य उपकरण थप्न नपर्ने बताए । त्यती मात्रै नभई नगरपालिकाकै वडा नम्बर २ वाणिचोकमा पनि क्यामेराहरु जडान गर्ने नगरपालिकाले तयारी थालेको उनले बताए । उनले अबको केही दिन भित्रै वाणीचोकमा क्यामेरा जडान गरिने बताए ।