धनगढी – कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त भनिएका मनोज भण्डारीको ज्यान मार्ने धम्की दिएको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीले उनलाई खोजी गरिरहेको भएपनि उनी अझै फेला परेका छैनन् । तर, उनले दास हत्या पछि आफ्नो अडियो सार्वजनिक गर्नेको हत्या गर्ने धम्की दिएका छन ।

भिडियोमा मनोजले भनेका छन्, ‘यी फुच्चेफाच्चीका लागि गोली खर्च गर्छन् ? तिमीहरूलाई यति सहज मृत्यु दिँदैन । तड्पाइतड्पाइ नमारे मेरो नाम मनोज होइन एके ।’
उनले आफू शान्त बसेको बताउँदै ‘तुफान आउनेवाला’ रहेको पनि भिडियोमा बोलेका छन् । उनले अगाडि भनेका छन्, ‘समुद्र तब शान्त हुन्छ जब तुफान आउनेवाला हुन्छ । एके, तेरा बाउ मारेको छु मैले कि श्रीमती मैले लगेको छु ? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्, दाइले के ग¥या छ था’ होला नि ! क्रिमिनल हो हामी क्रिमिनल !’

प्रहरी अधिकारीहरूका अनुसार मनोज र दास एउटै समूहका साथीहरू हुन् । उनीहरू सँगैसँगै खाना खाने, घुम्ने र मिल्ने साथी रहेको खुलेको छ । निम्नवर्गीय परिवारका दास र मनोजको समूह लागुऔषध कारोबारी र प्रयोगकर्ता समेत हुन सक्ने प्रहरीको अनुमान छ ।
गएको पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियोे । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेलापरेको हो ।
हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज भण्डारी नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो । सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
उनीहरूले आफ्नो अडियो बाहिर ल्याएको भन्दै एके नामका एकजनालाई सामाजिक सञ्जालको लाइभ भिडियोबाट ज्यान मार्ने धम्की दिएका छन् । भिडियो घटनाकै समयको भएको र भिडियोलाई पनि प्रहरीले प्रमाणको रूपमा लिएको छ ।



















