अत्तरिया – कैलालीको अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रमको आयोजना गरिएको छ । अत्तरियामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले शिवजयन्तीको अवसर पारी शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रमको आयोजना गरेको हो ।
विद्यालयकी सञ्चालीत रबिना दिदीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी भौतिक पुर्वाधार विकाश राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिईन । कार्यक्रममा बोल्दै उनले शिवजयन्तीलाई परम्परागत रुपमा नभई फरक किसिमले मनाउनुपर्ने बताईन ।

उनले शिव जन्मेको पावन अवसरमा मिठो मसिनो खाई, स्वच्छ मनका साथ सबैले एक आपसमा माया साटासाट गर्नुपर्ने बताईन । मनका भएका नकारात्मक सोचहरुलाई त्यागी सबैले आफुलाई एक असल व्यक्तिका रुपमा उभ्याउनुपर्ने उनले बताईन । शिवरात्रीमा युवाहरु गाँजा, भाङ, धतुरो खाने लगायतका नराम्रा गतिविधी गर्ने गरेको बताउदै उनले त्यसको अन्त्य गर्न जरुरी रहेको बताईन ।
उनले अहिलेका युवाहरु कुलतमा फसेर आफ्नो अमुल्य जिवनलाई नष्ट गर्ने कार्यमा लागेकाले उनिहरुलाई सही दिशामा ल्याई जिवनको महत्व सम्झाउन आवश्यक रहेको तर्क गरीन । युवाहरु अग्रसर भए मात्र देशको परिवर्तन सम्भव रहेकाले युवाहरुले नकारात्मक क्रियाकलापहरुको अन्त्य गरी समाज रुपान्तरणमा लाग्नुपर्ने उनको भनाई छ ।

यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा भट्टराई रहेका थिए । कार्यक्रममा बोल्दै उनले शिवरात्रीमा युवाहरुले गाजाँ, भाङ, धतुरो लगायतका लागुऔषधहरु प्रयोग गर्ने गरेको बताए । उनले समाजले नै शिवरात्रीलाई लागुऔषध प्रयोग गर्ने दिनका रुपमा हेर्ने गरेकाले समाजको सुरक्षा व्यवस्थामा चुनौती थपिदै आएको बताए ।
‘भगवान शिव जन्मेको दिनमा हामी गाँजा, भाङ, धतुरो लगायतका लागुआषध खाई विकृति निम्त्याउछौ’ उनले भने ‘यो गलत प्रवृतिको अन्त्य हुन जरुरी छ, यसदिन त मनलाई शान्त र सफा बनाउनुपर्छ, मनमा भएको काम, क्रोध, लोभ, मोह, ईष्र्या लगायतका नकारात्मक कुराहरुलाई हटाउनुपर्छ ।’
उनले शिवरात्री माया र स्नेहको पर्यायका रुपमा रहेकाले यसदिन एक आपसमा भातृत्व र प्रेम साटासाट गर्नुपर्ने बताए ।
कार्यक्रममा भगवानको शिवको नाममा केक पनि काटिएको थियो । भगवान शिव जन्मेको दिनको अवसर पारी केक काटिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी सञ्चालीका रबिना दिदीले बताईन । उनले भगवानले गाँजा, भाङ, धतुरो खाने भन्दै मानिसहरुले खाने गरेकाले यस्तो नगर्न आग्रह गरीन ।
‘भगवानले खानुहुन्न, उहाँले त मानिसका नराम्रा कार्यहरु आफुमा समावेश गर्न खोज्नुभएको छ’ उनले भनीन ‘आफु जो त्यस्ता किसिमका लागुऔषधहरु छोड्न सक्दैनन्, ति मानिसहरुले भगवानको नाम बेचेर भ्रम छरिरहेका छन ।’ उनले भगवानको मुर्तिमा दुध पनि नचढाउन आग्रह गरीन । ‘आजको दिन शिवजीका मन्दिरमा दुधको खोलो बगीरहेको छ’ उनले भनीन ‘भगवानले दुधको खोलो बगाउ भन्नुभएको होईन, दुध जस्तो सेतो, स्वच्छ, निर्मल मन बनाउ भन्नुभएको हो ।’
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै धार्मिक आस्था राख्ने स्थानियहरुको सहभागीता रहेको थियो ।















