धनगढी – नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनसक्ने बताएका छन् । कैलाली कञ्चनपुरका बिभिन्न कार्यक्रममा सहभागी हुन धनगढी पुगेका अध्यक्ष नेपालले धनगढीमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन ।
बिहिबार नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै नेपालले एमसीसी पास गर्ने गरी सत्तामा बस्न नसकिने संकेत गरेका थिए ।


अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने बताए । एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए । तरपनि कुनै बुँदा नसच्याएरै संसदमा टेवल भएपछि एमसीसीको बिपक्षमा आफ्नो पार्टी रहेको उनले बताए ।
नेपालले एमाले अध्यक्ष केपी ओलीलेनै बिभिन्न स्वार्थका लागि एमसीसी संसदमा पेस गरेको आरोप लगाए । एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारलेनै गरेका कारण उनीहरुलेनै देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाई छ ।
उनले देशभक्तीका नारा लाउँदै केपी ओलीनै राष्ट्रघाती काममा सहभागी भएको र अहिलेपनि ओलीनै एमसीसी पास गराउनमा अघी बढ्ने संका पैदा भएको बताए ।



















