खाेज्नुहाेस

गोदावरी नगरपालिकाद्धारा अति विपन्न महिलाहरुलाई गिट्टि कुट्ने सामग्री वितरण

Image

अत्तरिया – कैलालीको खुटिया नदी किनारमा गिट्टि कुटेर जिविकोपार्जन गर्ने अति विपन्न व्यक्तिहरुलाई गिट्टि कुट्ने सामग्री वितरण गरिएको छ ।

गोदावरी नगरपालिकाको महिला शाखाले बिहिबार एक कार्यक्रमको आयोजना गरी वडा नं. ८ र ९ का गिट्टि कुटेर जिवन निर्वाह गर्ने ३१ जनालाई सहज सामग्री प्रदान गरेको हो ।

attariya hospital

वडा नं. ९ का वडाध्यक्ष लहानु चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए । कार्यक्रममा बोल्दै उनले गिट्टि कुट्ने महिलाहरुलाई कृषि कार्यमा उन्मुख गराई स्वरोजगार बनाउन चाहेको बताए ।

गिट्टि कुट्ने काम मात्र नभई केही नयाँ व्यावसायीक ईलमहरु गर्न उनले महिलाहरुलाई आग्रह पनि गरे । ‘हामी सधैभरी तपाईहरुलाई यस्ता गिट्टि कुट्ने सामग्रीहरु दिन चाहदैनौ’ उनले भने ‘यस्तो पेशा छोडी बरु व्यावसायीक रुपमा बंगुर पालन, बाख्रा पालन, मौरीपालन जस्ता कृषि कार्यहरु गर्नुस, जसले तपाईहरुलाई आत्मनिर्भर बन्न मद्दत मिल्नेछ ।’

गिट्टि कुट्नमा गरिने मेहनत कृषि कार्यमा गरे दोब्बर प्रतिफल प्राप्त हुन सक्ने बताउदै उनले गिट्टि कुट्नु भन्दा आय आयआर्जन मुलक कार्य गर्दा भविष्यलाई पनि राम्रो हुने बताए ।

navjiwan hospital

नगरपालिकाले विगत ३ वर्षदेखी गिट्टि कुट्ने विपन्न परिवारका महिलाहरुलाई गिट्टि कुट्न सहजता प्रदान गर्ने सामग्रीहरु वितरण गर्दै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ३१ जनालाई गिट्टि कुट्ने सामग्री वितरण गरेको हो ।

गोदावरी नगरपालिकाकी महिला शाखा प्रमुख गोदावरी धामीले गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जनमा सहजता होस भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताईन । उनले विगतका वर्षहरुमा पनि सामग्री वितरण गरिएको र त्यसलाई निरन्तरता दिईएको बताईन ।

‘प्रत्येक वर्ष हामीहरु सामग्री वितरण गर्दै आईरहेका छौ’ उनले भनीन ‘तर गत वर्ष पाईसकेका व्यक्तिहरुले यस वर्ष सामग्री पाएका छैनन ।’ सामग्री वितरणमा कोही नदोहोरीउन र कोही नछुटुन भन्ने विषयलाई मध्यनजर गर्दै सामग्री प्राप्त गरिसकेका व्यक्तिहरुको नामावली वडामा र नगरमा राख्ने गरेको बताईन ।

चालु आर्थिक वर्षमा अति विपन्न गिट्टि कुट्ने महिलाहरुलाई आयआर्जन सचेतना तथा सामग्री वितरण शिर्षकमा छुट्याईएको ३ लाख बजेटबाट नगरपालिकाले सामग्री वितरण गरेको हो । उक्त शिर्षक अन्र्तगत नै नगरपालिकाले गिट्टि कुट्ने महिलाहरुलाई २ दिने सचेतना कार्यक्रम पनि आयोजना गरेको थियो ।

नगरपालिकाले वितरण गरेको सामग्रीहरुमा हथौडा, चस्मा, बेल्चा, फरुवा, कुटो, छाता, टिफिन डब्बा, पञ्जा, जाली, प्लाष्टिक बाटा, प्लाष्टिक पिर्का, सेनिटाईजर र मास्क रहेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नरेश बहादुर अधिकारी, कार्यपालिका सदस्य गणेशी विसि, साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरका अध्यक्ष रामप्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला शाखाकी कर्मचारी प्रेमा बडुले गरेकी थिईन ।