अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कोभिड – १९ बाट प्रभावित समुदायहरुका लागि पुर्नरुत्थान परियोजना सम्बन्धमा छलफल गरिएको छ । एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारीमा निड्स नेपालले सञ्चालन गर्न लागेको उक्त परियोजनाको बारेमा बिहिबार छलफल गरिएको हो ।
निड्स नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक भवराज रेग्मीले कोरोनाका कारण प्रभावित भएका परिवारहरुको पुर्नरुत्थान र नयाँ आईरहेको कोभिडको भेरियन्टको जोखिम कम गर्न परियोजना लागु गर्न लागिएको बताए । उनले कोरोनाको नयाँ भेरियन्टसँग लड्न र कोरोनाका प्रकोप कम गर्न नगरको स्वास्थ्य शाखालाई परियोजना मार्फत विभिन्न सहयोगहरु गरिने बताए ।

उनले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई पनि साना आयआर्जनका लागि नगरपालिकाकै कृषि शाखाहरु सँग समन्वय गरी कार्यक्रम थालिने बताए । उनले जिल्लाका पुर्नवास, भिमदत्त र कृष्णपुर नगरपालिका गरी तिन वटा स्थानिय पालिकाहरुमा उक्त परियोजना लागु गरिरहेको बताए ।

परियोजनाको मुख्य उद्देश्य कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्य संस्थाको क्षमता विकास गर्ने, उनीहरुलाई आवश्यक स्रोत साधनहरु सहयोग गर्नुका साथै रोजगारी गुमाएर घर फर्किएकाहरुको आयस्तर बृद्धि गर्न सहयोग गर्ने रहेको उनले बताए । परियोजना अन्र्तगत मुख्य गरी स्वास्थ्य र कृषि क्षेत्रमा कार्यहरु गरिने उनले बताए । परियोजनाका लागि कोभिडको बढी मारमा परेको क्षेत्र र बाहिरि देशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका तथा आर्थिक मारमा परेका क्षेत्रहरुलाई समावेश गरिएको उनले बताए ।
१० महिनासम्म लागु हुने उक्त परियोजनाले ३ हजार घरधुरी समेटेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले जानकारी दिए । उनले परियोजनाको कुल लागत २ करोड १ लाख २४ हजार ९ सय ७६ रुपैया रहेको बताए ।
उनले परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्न सबैले सहयोग गरिदिन आग्रह पनि गरे । निड्स नेपालकी सहसचिव दुर्गा खरेलको अध्यक्षतामा आयोजित छलफल कार्यक्रमकी प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राना रहेकी थिईन ।
उनले परियोजना अन्र्तगत कृष्णपुर नगरपालिकालाई समावेश गरेको भन्दै निड्स नेपाललाई धन्यवाद ज्ञापन गरिन । उनले कृष्णपुर नगरपालिका कोभिडको सबैभन्दा बढी मारमा परेको नगरपालिका पनि भएकाले परियोजना आवश्यक रहेको बताईन ।
उनले परियोजनाले बेमौषमी वर्षाको मारमा परेका किसानहरुलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन । कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष आशाराम चौधरी, वडा नं. ६ का वडाध्यक्ष नत्थुराम चौधरी, वडा नं. ८ का वडाध्यक्ष अमर सिँह बडायक र वडा नं. ९ का वडाध्यक्ष छत्र बहादुर महराका साथै नगरका विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

















