सिमकोट – सरकाले देशलाई तुईन मुक्त बनाएको घोषणा गरेपनि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै कार्यालय जान आउन तुइन तर्ने गरेको पाइएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कर्णाली नदीमाथिको तुइनकै भरमा कार्यालयमा आउजाउ गर्दै आएका छन ।


गाउँपालिका केन्द्र याङ्चु बजार जान तुइन नै तर्नुपछ । अधिकृत विष्णुबहादुर शाहीले पुल नभएपछि कार्यालय जान र घर फर्कन तुइन तर्नुपर्ने बाध्यता रहेको बताए ।
खार्पुनाथ गाउँपालिका–४ स्थायी घर भएका उनी एक महिना अगाडि सरुवा भएर गाउँपालिकामा आएका हुन् । उनी माझा गाउँमा रहेको घरबाट एक घण्टाको पैदल हिँडेपछि कर्णाली नदीमाथिको तुइन चढेर कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सुनाए ।
उनलाई वर्षाको बढेको कर्णाली नदीमाथिको तुइन चढ्न डर लागे पनि अन्य विकल्प भने छैन । कार्यालयमा आवासको व्यवस्था भइनसकेको कारण घरबाटै उनी कार्यालय आउजाउ गर्दै आएका छन् ।
उनीसँगै छिप्रा गाउँ स्थायी घर भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल पनि तुइनकै भरमा कार्यालय पुग्छन् । उनले निर्वाचनमा विजयी भएदेखि सोही तुइनबाट गाउँपालिका र घर ओहोरदोहोर गर्दै आएका छन् ।

















