खाेज्नुहाेस

समाजसेवा, उद्यमशीलतामा सक्रिय दीपक ओझा रास्वपा गोदावरीको मेयर क्यान्डिडेट क्लबमा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका दीपक ओझाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मेयर क्यान्डिडेट क्लबमा उम्मेदवारीका लागि आवेदन दिएका छन् । सामाजिक सेवा, उद्यमशीलता र राजनीतिक गतिविधिमा सक्रिय ओझाले आगामी स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिकाको नेतृत्व गर्ने आकाङ्क्षासहित क्यान्डिडेट क्लबमा सहभागिता जनाएका हुन् ।

समाजमा सकारात्मक परिवर्तन ल्याउने र समुदायको विकासमा योगदान गर्ने लक्ष्यसहित अघि बढिरहेको बताउने ओझा लामो समयदेखि व्यवसाय, सहकारी र सामाजिक गतिविधिमा संलग्न छन् । उनले आफ्नो व्यावसायिक यात्रासँगै सामाजिक उत्तरदायित्व र सामुदायिक विकासलाई पनि प्राथमिकतामा राख्दै आएका छन् ।

attariya hospital

ओझा थ्रीडिभिएल बहुउद्देश्यीय सहकारी अध्यक्ष तथा सहसंस्थापक हुन् । करिब चार वर्षदेखि सहकारी क्षेत्रमा नेतृत्व गरिरहेका उनले संस्थाको पुँजी वृद्धि, लगानी व्यवस्थापन, सदस्य सहभागिता र संस्थागत विकासमा भूमिका निर्वाह गरेका छन ।

त्यस्तै, उनी थ्रीडिभिएल क्रियसनका संस्थापक तथा क्रिएटिभ डाइरेक्टर समेत हुन् । करिब सात वर्षदेखि उद्यमशीलता, रोजगारी सिर्जना र सामुदायिक विकासका गतिविधिमा सक्रिय रहेका ओझाले उत्पादन, दुग्ध व्यवसायल गायतका क्षेत्रमा लगानी तथा व्यावसायिक गतिविधि अघि बढाएको बताए । कोभिड–१९ महामारीका समयमा पनि सामुदायिक सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सहभागी भएका थिए ।

navjiwan hospital

राजनीतिसँगै सामाजिक रूपान्तरणको लक्ष्य

राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा सक्रिय ओझा गोदावरी नगरपालिकामा पार्टीका संस्थापक नगर सभापतिसमेत हुन् । यसअघि २०८० वैशाखमा सम्पन्न रास्वपाको नगर सम्मेलनबाट उनी गोदावरी नगर सभापतिमा सर्वसम्मत चयन भएका थिए ।

उनी सँग पार्टी संगठन निर्माण, जनपरिचालन, सामुदायिक सहभागिता तथा चुनावी अभियान व्यवस्थापनमा अनुभव रहेको छ । उनले प्रतिनिधिसभा निर्वाचनमा खेमराज कोइरालाको चुनावी अभियान व्यवस्थापकका रूपमा काम गरेको र गोदावरी क्षेत्रमा पार्टीको संगठनात्मक गतिविधिमा योगदान दिएको जनाएका छन् ।

सामाजिक न्याय, सुशासन, युवा सशक्तीकरण, सार्वजनिक सेवा र समावेशी विकासलाई आफ्नो प्राथमिकताका विषयका रूपमा प्रस्तुत गरेका ओझाले नगरको विकासमा उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई जोड्नुपर्ने धारणा राख्दै आएका छन् ।

दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गरेका ओझाले सुदूरपश्चिम विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन् । हाल उनी सोही विश्वविद्यालयमा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत छन् ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि क्यान्डिडेट क्लबमार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा तहका पदका आकाङ्क्षीलाई आवेदन दिन आह्वान गरेको छ ।  साेहि प्रक्रियामा सहभागी हुन उनले बुधबार दसैँको शुभ सायत पारेर आफ्नो दाबी पेश गरेको जनाएका छन ।