खाेज्नुहाेस

गोदावरीमा शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) अन्तरगतको मानव अधिकार समुह गोदावरी नगरसमितिले शिक्षक, अभिभावक र विद्यार्थीहरु बिच उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

मानव अधिकार समुह गोदावरीका अध्यक्ष नरदिप धामीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा कार्यपालिका सदस्य चन्द्र बहादुर कामी र वडा नं. १ का कार्यवाहक वडाध्यक्ष कृत बहादुर चन्द रहेका थिए । कार्यक्रममा नगरभित्र रहेका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।

attariya hospital

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुले अध्ययन गर्ने विद्यालयमा भएका समस्याहरु प्रस्तुत गरेका थिए । सरस्वती मावि ओलानीकी छात्रा प्रतिक्षा सुनारले विद्यालयमा खानेपानी, बाटोघाटो लगायतका समस्या रहेको बताईन ।

उनले विद्यालयका कतिपय शिक्षकहरु बिच समयमा नै पढाउन छोडेर बाहिर निस्कने बताउनुका साथै विद्यालयमा राम्रो सँग पढाई पनि नहुने गरेको गुनासो गरिन । कोरोना महामारीको समयमा अन्य विद्यालयमा अनलाईन प्रणाली मार्फत अध्यापन भएपनि आफ्नो विद्यालयमा नभएको उनले बताईन ।

यसैगरी दुर्गालक्ष्मी बहुमुखी क्याम्पसकी छात्रा सिर्जना पण्डितले विद्यालय जाने बाटो नै मुख्य समस्या रहेको बताईन । कार्यक्रममा सहभागी शिक्षक डिल्लीराज पन्तले अनलाईन प्रणालीबाट प्रदान गरिदै आएको शिक्षा प्रभावकारी नभएको बताए ।

‘सुगम जिल्ला कैलालीमै पनि सयमा ४ प्रतिशत बालबालीका समेत अनलाईन कक्षामा सहभागी हुदैनन’ उनले भने ‘अनलाईन शिक्षामा निगरानी नहुने र कतिपय बालबालीकाहरु अनलाईनको पहुँचमै नहुने भएकाले समस्या छ ।’

उनले कोरोनाका कारण बन्द अवस्थामा रहेका विद्यालयहरु बल्ल सुचारु भैरहेकाले सो अवधीमा आफ्नो घर गएका बालबालीकाहरुलाई शिक्षाको क्षेत्रमा पु-याउन आवश्यक रहेको बताए ।

यस्तै समैजी मावीका शिक्षक केशवराज विनाडीले निशुल्क शिक्षाको अवधारणाका विषयमा आफ्ना धारणाहरु राखेका थिए । उनले निशुल्क शिक्षाका लागी शिक्षकहरुको दरबन्दी विद्यालयको आवश्यकता अनुसार हुनुपर्ने बताए । उनले शिक्षामा लगानी आवश्यक भएमात्रै शिक्षाको महत्व रहने समेत बताए ।

navjiwan hospital

दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीले कोरोना समयमा विद्यालयलाई क्वारेन्टाईन बनाईदा विद्यालयले घाटा बेहोर्नुेपरेको बताए । ‘विद्यालयलाई क्वारेन्टाईन बनाईयो, त्यसमा राखिएका व्यक्तिहरुले विद्यालयको सम्पत्तिमा क्षती पु¥याएका छन । त्यो क्षतीको पुर्ति कस्ले गर्ने, विद्यालयको सम्पत्ति तोडफोड भएको छ, बेहोर्ने कस्ले ? उनले प्रश्न गरे ।’

कार्यक्रममा बोल्दै चण्डेश्वरी आधारभुत विद्यालयका अध्यक्ष अम्मर राज पाठकले पनि विद्यालयलाई क्वारेन्टाईन बनाईएदा विद्यालयमा भएका संरचनाहरु तहसनहस भएको बताए ।

‘क्वारेन्टाईनका समयमा त्यहा बसेका व्यक्तिहरुले तोडफोड गर्दा करिब साढे ५ लाख बराबरको विद्यालयमा क्षति भएको छ’ उनले भने ‘त्यती मात्रै नभई उक्त अवधीमा आएको विजुलीको १७ हजार ४ सय रुपैयाको बिल पनि विद्यालयको टाउकोमा राखिएको छ, यस्तो विषयमा स्थानिय सरकाले पहलकदमी गर्न जरुरी छ ।’

शैलेश्वरी मावीका अध्यक्ष खम्म बुढाले विद्यालयमा अनुगमनको कुरालाई औल्याए । उनले विद्यालयमा राज्यले सुविधा दिदाँ उक्त विद्यालयको अनुगमन गर्न जरुरी रहेको बताए । ‘हामी विद्यालयमा समस्या नभएपनि समस्या दर्साएर माग राख्छौ’ उनले भने ‘आवश्यकता भएका विद्यालयलाई सुविधा दिन नगरपालिकामा रहेको नगर शिक्षा समितिको समन्वयमा अनुगमन हुन जरुरी छ ।’

सहभागीहरुबाट उठेका समस्याहरुका बारेमा बोल्दै नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले सरकारले कक्षा १२ सम्म नै निःशुल्क शिक्षाको अवधारणा ल्याएको बताए । उनले प्राथमिक तहसम्मका बालबालीकाहरुको पोषणलाई ध्यानमा राखी दिवाखाजा कार्यक्रम पनि ल्यार्ईएको बताए । उनले गोदावरीमा पनि शिक्षा क्षेत्र सुधारोन्मुख रुपमा अगाडी बढेको बताए ।

कार्यक्रमका बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँ साउँदले निशुल्क शिक्षाको अवधारणालाई कार्यान्वयन गर्न दरबन्दी अभाव रहेका विद्यालयहरुमा शिक्षकको पदपुर्तिका लागी पहल भैरहेको बताए । उनले नगरपालिकाको तर्फबाट ६० प्रतिशत र विद्यालयका तर्फबाट ४० प्रतिशत बेहोर्ने गरी नगर शिक्षकको व्यवस्था गर्ने अवधारणा नगरपालिकाले ल्याएको बताए ।

उनले शिक्षालाई प्रविधि सँग जोड्न जरुरी रहेको समेत बताए । वर्तमान समयमा प्राविधिक शिक्षा नै उपयोगी भएकाले परम्परागत शिक्षालाई केही परिमार्जित गर्न आवश्यक रहेको उनको भनाई छ । ‘अहिले परम्परागत शिक्षा प्रणालीले केही हुदैन’ उनले भने ‘समयको माग अनुसार रोजगार सिर्जना गर्न सक्ने खालका शिक्षालाई प्राथमिकता दिन आवश्यक छ ।’

उनले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा नगरपालिकाले करिब ७ करोड रुपैया विनियोजित गरेको बताउदै शिक्षालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्ने बताए ।

नगरमा कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, गुणस्तरिय शिक्षा प्रदानमा हुने समस्या, समस्या समाधानका लागी नगरमा भएगरेका योजना लगायतका विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मानव अधिकार समुह गोदावरीका अध्यक्ष नरदिप धामीले बताए । उनले कार्यक्रमले मुख्य रुपमा शिक्षाक्षेत्रमा भएका समस्याहरु उजागर गर्न मद्दत पु-याउने बताए ।

कार्यक्रमको सञ्चालन ईन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले गरेका थिए ।