अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न वडामा नदीले कटान गरेका क्षेत्र र जोखिममा रहेका क्षेत्रको अनुगमन गरिएको छ ।
आईतबार नगरप्रमुख कर्ण बहादुर हमाल, प्रमुख प्रशासकिय अधिकृत शिवसिँह भण्डारी, वडा नं. २ का वडाध्यक्ष जयनारायण जोशी, सुचना अधिकारी प्रेम बोगटी, स्वास्थ्य शाखाका कर्मचारी रतन विष्ट लगायतको टिमले नदीले कटान गरेका र कटानको उच्च जोखिममा रहेका वडा नं. १, २ र ४ का बेल्कुन्डी, सरस्वती टोल, भेटघाट शिविर लगायतका विभिन्न स्थानको अनुगमन गरेको हो ।


अनुगमन पश्चात बोल्दै नगरप्रमुख हमालले अनुगमन पश्चात क्षतीको एकिन विवरण निकाली उचित राहतको व्यवस्था गरिने बताए । उनले नदीकटानको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न प्रदेश तथा संघ सरकारसँग समन्वय गरी पहल थाल्ने बताए ।

‘अविरल वर्षाका कारण आएको बाढीले नगरपालिका क्षेत्र भित्र पर्ने ठूला नदिहरु बनहरा, मछेली, मोहना लगायतका धारापानीगाड, खारखोला, ओदालखोला, बण्डनदी, बालुवानाला, जरहीनाला र गौडिखोलाले खेतीपाती सहित ठूलो क्षेत्रफलमा खेतीयोग्य जमिन कटान गरेको छ’ उनले भने ‘नदीका कारण घरहरू डुवानमा परेका छन भने सडक, बाटोघाटो र कल्भर्ट समेत क्षतिग्रस्त बनेका छन, यस्ता क्षतिग्रस्त स्थानको तथ्यांक संकलन गरी उचित राहतको लागी प्रयासरत छौ ।’

उनले बाढी र पहिरोको जोखिममा रहेका सबैलाई सहयोगका लागि सम्बन्धित सबै पक्षमा अपिल गरेका छन ।
बाढीले प्रभावित भएका पीडित परिवारहरु लाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा नदी कटान नियन्त्रणका लागि दीर्घकालीन गुरु योजना कार्यान्वयन गर्न उनले प्रदेश र संघ सरकारलाई अनुरोध पनि गरेका छन ।





























