काठमाण्डौं – थरुहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष’ को अवसरमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । मोर्चाले उक्त घटनाका बन्दीहरूलाई सम्मानजनक रिहाई गर्न माग गर्दै मंगलबार दिउँसो मण्डलमा प्रदर्शन गरेको हो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा रेशम चौधरी लगायतलाई षड्यन्त्रपूर्वक फसाइएको मोर्चाको ठहर छ ।


’२०७४ सालको आमचुनावमा उनको उम्मेदवारीलाई कैलाली १ का जनताले अत्यधिक भोट हाल्दै उनका निकटतम् प्रतिद्वन्द्वीभन्दा २१ हजार बढी मतान्तरले जिताए । त्यहाँ जनताले मतदानमार्फत् रेशम चौधरीलाई मात्र चुनेका थिएनन् राज्यको संरक्षणमा लादिएको हिंसा र दमनको विपक्षमा मत दिएका थिए,’मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ तर जनअभिमत बेवास्ता गर्दै चौधरी अझै जेलमा थुनिएका छन्। अरू थुप्रैलाई बन्दी बनाइएको छ ।’
मोर्चाले चौधरीसँगै सम्पूर्ण बन्दीहरूलाई तत्काल सम्मानजनक रिहा गर्न माग गरेको हो । टीकापुर घटनामा एक नाबालक सहित ७ जनाको मृत्यु भएको थियो । यसलाई राजनीतिक मुद्दा भन्दै मोर्चाले त्यसैअनुसार समाधान गर्नुपर्ने माग गरेको छ ।
’टीकापुर जनविद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट होइन राजनीतिक प्रक्रिया र सहमतिबाटै निरूपण गरिनुपर्छ । यो घटना सामान्य अदालती प्रक्रियाबाट समाधान हुन सक्दैन,’मोर्चाले भनेको छ ।
टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेकोमा मोर्चाले मंगलबारदेखि तीन दिनसम्म प्रदर्शन गर्ने जनाएको छ । दैनिक दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने मोर्चाले जानकारी दिएको छ ।














