खाेज्नुहाेस

गेटा स्थित विश्वविद्यालय सञ्चालन प्रक्रिया प्रभावित हुने गतिविधि रोक्न माग

Image

अत्तरिया –  कैलालीको गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालन प्रक्रिया र शैक्षिक कार्यक्रम प्रभावित हुने गतिविधि रोक्न माग गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिले शुक्रबार ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको ऐन संशोधन, शैक्षिक कार्यक्रमको सिट निर्धारण, पदाधिकारी नियुक्ति तथा बर्खास्तीजस्ता विषयमा विवाद सिर्जना गरी विश्वविद्यालयलाई अन्योल र विवादमा धकेल्ने काम बन्द गर्न माग गरेको हाे ।

attariya hospital

ज्ञापनपत्रमा विश्वविद्यालयमा सुदूरपश्चिम तथा स्थानीय पालिकाका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट, शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति तथा रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत गरिएको छ ।

समितिले गेटा विश्वविद्यालय सुदूरपश्चिमका जनताको दशकौँदेखिको संघर्ष, त्याग, तपस्या र बलिदानको प्रतिफल भएको उल्लेख गर्दै यसको भविष्यसँग खेलवाड नगर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विश्वविद्यालयको सञ्चालन प्रक्रिया अघि बढिरहेका बेला विभिन्न बहानामा विवाद सिर्जना गर्ने, अनावश्यक अन्योल फैलाउने र शैक्षिक कार्यक्रम प्रभावित पार्ने गतिविधिप्रति समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका पक्षमा उठ्ने जायज आवाजप्रति समर्थन रहे पनि विश्वविद्यालयको ऐतिहासिक आवश्यकता र जनभावनाविपरीतका गतिविधि स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रा.डा. गोविन्द केसीले सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएको विषयमा पनि समितिले आपत्ति जनाएको छ । सहमति कार्यान्वयन गर्नु सरकारको दायित्व भएको भन्दै त्यसका लागि सरकारलाई जवाफदेही बनाउनुपर्ने समितिको भनाइ छ ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा गर्नुपर्नेमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै मापदण्ड पूरा गर्ने नाममा विश्वविद्यालय सञ्चालन नै रोक्ने, विद्यार्थीको भविष्य अन्योलमा पार्ने र सुदूरपश्चिमलाई शैक्षिक अवसरबाट वञ्चित गर्ने अवस्था आए सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

संघर्ष समितिले सार्वजनिक गरेका मागमा ऐन संशोधन, सिट निर्धारण प्रक्रिया र पदाधिकारी नियुक्ति तथा बर्खास्तीसम्बन्धी विवाद अन्त्य गर्नुपर्ने विषय पनि समेटिएका छन् । ज्ञापनपत्रमा समितिका संयोजक लोकराज पाण्डेय, सहसंयोजक आनन्दप्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।

संघर्ष समितिले शुक्रबार नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई पनि ज्ञापन पत्र बुझाउँदै गेटा विश्वविद्यालयको शिक्षण अस्पताललाई अत्याधुनिक उपकरणसहित ६०० शय्याको पूर्ण क्षमतामा सञ्चालन गर्न र शैक्षिक कार्यक्रमको पठनपाठन तत्काल सुरु गर्न आवश्यक पहल गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको छ ।

समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको ऐन संशोधन, शैक्षिक कार्यक्रमको सिट निर्धारण, पदाधिकारी नियुक्ति तथा बर्खास्तीजस्ता विषयमा विवाद सिर्जना गरी विश्वविद्यालयलाई अन्योलमा पार्ने काम रोक्न माग गरेको छ ।

Do you like this personality?