खाेज्नुहाेस

४० लाख ४३ हजारको लगानीमा कृष्णपुरमा बालमैत्री विद्यालय भवन निर्माण

Image

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियास्थित सरस्वती आधारभूत विद्यालयमा बालमैत्री तथा अपाङ्गतामैत्री भूकम्पप्रतिरोधी दुई कोठे भवन निर्माण गरिएको छ । नेपाल राष्ट्रिय समाजकल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पाठशाला परियोजनाअन्तर्गत निर्माण गरिएको भवन शुक्रबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

२०८२ फागुन १५ गते निर्माण सुरु भई २०८३ साउन ४ गते सम्पन्न भएको भवन निर्माणमा करसहित ४० लाख ४३ हजार ५४१ रुपैयाँ खर्च भएको एनएनएसडब्ल्यूएका कार्यक्रम संयोजक रामेश्वर जैरुले जानकारी दिए । शुक्रबार कृष्णपुर नगरपालिकाका जनप्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीयको उपस्थितिमा भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

attariya hospital

विद्यालयमा सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाअन्तर्गत भवन निर्माणसँगै विभिन्न शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको कार्यक्रम संयोजक जैरुले बताए । उनका अनुसार विद्यालयलाई दुई कोठे भवनसँगै प्रारम्भिक बाल विकासका सामग्री, कक्षाकोठा व्यवस्थापनका लागि कार्पेट, राउन्ड टेबल र बुक ¥याक, खेलकुद सामग्री, कथाका पुस्तक तथा स्मार्ट बोर्ड उपलब्ध गराइएको छ । त्यस्तै, विद्यालयको पुरानो भवनमा रंगरोगन गर्नुका साथै कक्षाकोठालाई आकर्षक बनाउन कलात्मक भित्तेलेखनसमेत गरिएको उनले बताए ।

उनका अनुसार स्मार्ट बोर्ड खरिदमा १ लाख ८५ हजार, कक्षाकोठा बसाइ व्यवस्थापनमा २ लाख ३ हजार ६९३, पुरानो भवनको रंगरोगनमा २ लाख ७ हजार ५६७, खेलकुद सामग्रीमा ५७ हजार ५२८ र प्रारम्भिक बाल विकास सामग्रीमा ४० हजार ४०८ रुपैयाँ खर्च गरिएको छ । यस्तै, कलात्मक भित्तेलेखनमा ४६ हजार २०० र कथाका पुस्तक खरिदमा ६० हजार रुपैयाँ खर्च भएको उनले बताए ।

नयाँ भवन र शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थीलाई सुरक्षित तथा सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले एनएनएसडब्ल्यूए र वल्र्ड भिजनको सहयोगमा विद्यालयले नयाँ दुई कोठे पक्की भवन पाएको बताए । उनले भवन बालमैत्री तथा अपाङ्गतामैत्रीसमेत रहेको र यसले विद्यार्थीको शैक्षिक विकास तथा सुरक्षित बसाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नयाँ भवन र उपलब्ध गराइएका सामग्रीले विशेषगरी बालबालिका तथा अपाङ्गता भएका विद्यार्थीलाई सहज रूपमा पठनपाठनमा सहभागी गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विद्यार्थी टिकाउन चुनौती छ : नगरप्रमुख ओझा

यसैबीच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताएका छन् । भौतिक संरचना र शिक्षकको व्यवस्था भए पनि सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन कठिन भइरहेको उनको भनाइ छ । विशेषगरी प्रारम्भिक बाल विकास तहमा भर्ना भएका विद्यार्थीलाई विद्यालयमै टिकाउन नसक्नु चुनौती बनेको उनले बताए ।

‘भवन पनि राम्रा छन्, शिक्षक पनि छन् तर विद्यार्थी छैनन्, कारण के हो ? भएका विद्यार्थी ईसीडी (प्रारम्भिक बाल विकास) मा आउँछन्, अर्को वर्ष पहेँलो बस चढेर कहाँ जान्छन्, ठेगान हुँदैन,’ उनले भने । उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न नगरपालिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सबैले गम्भीर भएर छलफल गर्नुपर्ने बताए ।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार र प्रविधिमैत्री बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । उनले तीन करोड ६९ लाख रुपैयाँको ठेक्का प्रक्रियामार्फत विद्यालयमा सीसीटीभी क्यामेरालगायतका सामग्री वितरण गर्ने, दुई करोड ७० लाख रुपैयाँ खर्च गरेर सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउनेलगायतका काम नगरपालिकाले शिक्षाक्षेत्रमा गरेको बताए । त्यसबाहेक नगरपालिकाले नगर शिक्षक व्यवस्थापनमा वार्षिक तीन करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेको उनले जानकारी दिए ।

नगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्च गरिरहेको उल्लेख गर्दै उनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइएको बताए । यति धेरै लगानी र सुविधा उपलब्ध गराउँदा पनि सामुदायिक विद्यालयमा विद्यार्थी किन टिकिरहेका छैनन् भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।

उनले विद्यालयमा विद्यार्थीको संख्या घट्नुको कारण पहिचान गर्न स्थानीय सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबीच छलफल हुनुपर्ने बताए । विद्यार्थी नै नभए राम्रा भवन र भौतिक संरचनाको उपयोग नहुने भन्दै उनले विद्यालयको शैक्षिक वातावरण र शिक्षण पद्धतिलाई समयअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

‘यही संरचनामा निजी विद्यालय सञ्चालन गर्ने हो भने विद्यार्थी नअटाउने अवस्था आउन सक्छ । तर सामुदायिक विद्यालयमा विद्यार्थी किन टिकिरहेका छैनन् भन्ने विषयमा सबैले सोच्न जरुरी छ,’ उनले भने । सामुदायिक विद्यालयलाई समयअनुसार अद्यावधिक गर्दै शैक्षिक गुणस्तर सुधारका लागि विस्तृत योजना बनाउनुपर्ने नगरप्रमुख ओझाको भनाइ छ ।