बैतडी– बैतडीका पाँच स्थानीय तहले आज (मंगलबार) स्थानिय सार्वजनिक बिदा दिएका छन् । विभिन्न मन्दिरमा लाग्ने जात्राको अवसरमा पालिकाहरुले आज सार्वजनिक बिदा दिएका हुन् । बिदा दिनेहरुमा जिल्लाका दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् ।
स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार विभिन्न शक्तिपीठ र मन्दिरमा लाग्ने जात्रामा स्थानीयको सहभागिता सहज बनाउन बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले भने जात्राकै अवसरमा हिजो पनि सार्वजनिक बिदा दिएका थिए ।


दशरथचन्द नगरपालिकाले वडा नम्बर ४ स्थित गढीको जगन्नाथ मन्दिर र वडा नम्बर ११ स्थित सीमको केदार मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको जनाएको छ । त्यस्तै, मेलौली नगरपालिकाले प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा सार्वजनिक बिदा दिएको छ भने शिवनाथ गाउँपालिकाले देहीगडा भगवती मन्दिरको जात्रालाई लक्षित गरी बिदा दिएको हो ।
यसैगरी, सुर्नया गाउँपालिकाले वडा नम्बर ५ स्थित फाल्ङाशैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिएको जनाएको छ । पञ्चेश्वर गाउँपालिकाले भने गणमेश्वर मन्दिर र छिमेकी मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सम्बन्धित पालिकाका अनुसार सार्वजनिक बिदाका दिन पालिकाअन्तर्गतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यी जात्रामा स्थानीयको उल्लेख्य सहभागिता रहने भएकाले सहज सहभागिताका लागि स्थानीय तहले बिदा दिने परम्परा कायम राखेका छन् ।

















